बिचार

राजनीति

महामारीमा टोल समिति गठन, बेमौसमी बाजा !

घाटगाउँ डटकम

१० असोज, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसबाट संसार आतंकित भएका बेला अहिले देशैभरका स्थानीय तहमा दलीय टोल समिति गठनको लहर चलिरहेको छ । खासगरी सत्तारुढ नेकपा र प्रतिपक्षी दल कांग्रेस नै कार्यकर्तालाई सुरक्षित राख्न धमाधम टोल समिति गठनमा लागिरहेका हुन् ।

दुई बर्षयता चुनाव छैन् । स्थानीय तहका लागि कम्तीमा डेड बर्ष यता चुनाव हुने सम्भावना झनै छैन् । चुनावमा आफू पराजित भइने डरले कांग्रेस र नेकपाका स्थानीय नेताहरु अहिल्यै धमाधम टोल समिति गठन गरेर आफ्नो पक्षमा कार्यकर्ता सुरक्षित राख्न हतारिएका छन् ।

जबकी अहिले दलीय टोल समिति नभई विकासका लागि टोल टोलमा समिति गठन गर्ने बेला थियो । प्रजातन्त्रदेखि संघीय गणतन्त्रसम्म गाउँमा उति सारो अपेक्षित विकास हुन नसकेका बेला स्थानीयलाई परिचालन गरेर उपभोक्ता समितिमार्फत हरेक टोलमा विकास गर्ने बेला थियो ।

तर चुनाव जितेपछि लगभग आफ्नै जिल्ला तथा केन्द्रतिर व्यस्त नेताहरु अहिले कार्यकर्तालाई आफूतिर तानिरहन गाउँ झरेका छन् । यो एक किसीमले बेमौसमी बाजा जस्तै हो । जुन कोरोनाको महामारीमा पनि नेताहरुले आफ्नो स्वार्थका लागि जनतालाई भेला पार्दै टोल समिति गठन गर्न छाडेनन् । 

हिजो कोरोना सर्छ भनेर गाउँ गाउँ पुगेर माइकिङ गर्ने, घर घर पुगेर मास्क वितरण गर्ने, झोलुङ्गे पुलमा तारबार गर्ने नेताहरु आज आफैले बाँडेको मास्क समेत नलगाई टोल समिति गठन गर्न तम्सिए । यो एक किसीमले जनताप्रति गैरजिम्मेवारपनको भद्दा नमूना हो । कोरोनाबाट बच्नका लागि भन्दै हिजो पर्चा पम्पलेट बनाउन, मास्क वितरण गर्न, हात धुने साबुन वितरण गर्न लाखौ खर्च भएको छ । जुन अझै सार्वजनिक भएको छैन् ।

तर एकातिर कोरोना नियन्त्रण गर्ने भनेर लाखौ खर्च गर्ने । अनि अर्कोतिर आफै धमाधम मास्क समेत नलगाई टोल समिति गठन गर्ने । यो दोहोरो चरित्रले जनतामाथि ठूलो मनपरीतन्त्र लादिएको भान हुन्छ । जनतालाई आफूले भनेको मान्नैपर्ने बनाउने, तर आफू कुनै पनि सीमा र मापदण्डमा नबस्ने दलीय प्रवृत्ति पञ्चायत शैलीभन्दा पनि डरलाग्दो हो ।

हिजो आफन्त मर्दा पनि सहजै आफ्नो गाउँ प्रवेश नपाएका, मुश्किलले भारतबाट बचेर गाउँ फर्किएका सर्वसाधारण सहजै आफ्नो घर छिर्न पाएनन् । उनीहरु फर्किदा कोरोना सर्छ भनेर आतंक फैलाइयो । हप्तौ न्युनतम मापदण्ड नभएका क्वारेन्टाइनमा राखियो । तर दलका पहुँचवाला कार्यकर्ता आफू बाइक तथा गाडीमा हिडेपनि जनतालाई एक ठाउँदेखि अर्को ठाँउसम्म जान प्रतिबन्ध लगाइयो ।

मात्रै दुई महिनाको फरकमा तिनै जनता टोल समिति गठनका लागि चाहियो । तर कोरोना महामारीको बेला सरकारले नै तोकेको न्युनतम मापदण्ड दलका नेता तथा जनप्रतिनिधिले पालना गरेनन् । सत्तापक्ष मात्रै होइन, विपक्षी पनि उत्तिकै गैरजिम्मेवार बन्यो । जुन विकासका लागि नभई केवल दलीय स्वार्थका लागि हो । यसले अझै पनि नेताहरुमा "जनता भेडा हुन जे गर्दा पनि हुन्छ" भने मानसिकता हावी भएको देखाउँछ ।

जनजिविकाको सवाल अलपत्र  

कुनै एक नेता गाउँ पसेपछि झस्किने अर्को दलका नेताहरु आश्वासन सिवाय अरु केही बाड्न सकिरहेका छैनन् । नेपालकै विकटमध्येको एक मानिने चौकुने गाउँपालिकामा विकासको स्पष्ट भिजन र दृष्टिकोण अझै सर्वमान्य छैन् । जनताका आधारभूत माग सम्बोधन गर्ने विषयमा न सत्ताधारी दल नेकपासँग स्पष्ट भिजन छ । न त प्रतिपक्षी दलका नेतासँग नै कुनै योजना छ ।

मात्रै चुनावमा भोटको चिन्ता गरेर बसेका नेताहरु केवल स्वार्थका लागि आश्वासन मात्रै बाडिरहेका छन् । केही नजिकका कार्यकर्तालाई आर्थिक र पदीय आश्वासन भएपनि बाँकी जनता भने भारतमा चौकीदारी गरेर पेट पाल्नुपर्ने बाध्यतामा छन् । 

चाहे कांग्रेसले जितोस या नेकपाले उनीहरुलाई खासै फरक पार्ने छैन् । जुन दल, जुन नेता र जुन कार्यकर्ताले जुनसूकै पद पाएपनि भारत गएर घर परिवारको ज्यान पाल्नुपर्ने बाध्यताबाट उनीहरुले मुक्ति पाउने छैनन् । हिजो महिनौ सीमा नाकामा उनीहरु भोकै अलपत्र परे । त्यतिबेला स्थानीय होइन, केन्द्र सरकारले सम्म केही गर्न सकेन् । आखिर कोरोना नेपाल आईछाड्यो । सबै जिल्लाका नागरिकलाई संक्रमित बनाईछाड्यो । 

हिजो सीमानाकामा कैयो रात भोकै बिताएका ती सोझा गाउँलेको दुःख कसले फिर्ता गरिदिन्छ ? अहिले गठन भएका टोल समितिले त्यतिबेला उनीहरुले पाएको दुःख फिर्ता गर्न सक्छन् ? कोरोनाका कारण उनीहरुले गुमाएको रोजगारी र परिवारको बिचल्ल्लीमा कुन दलले कति लाख बजेट छुट्याए ?

सीमानाका बन्द भएर नुन समेत खान नपाएका जनतालाई बरु कोरियामा रहेका युवाहरुले एक एक पोका आयोडीन नुन वितरण गरे । तर गाउँघरमै घुमिरहेका सत्ताधारी र प्रतिपक्षी दलका नेताहरुले एक गासलाई समेत पुग्ने गरी राहत वितरण गर्न सकेनन् ।

अस्वस्थ्य प्रतिष्पर्धा !

अहिले पनि दैनिक जसो सत्ताधारी र प्रतिपक्षी दलका नेताहरु कार्यकर्तासँग भेटघाट गरेको, टोल समिति गठन गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् । कार्यकर्तालाई जम्मा पार्दै टोल समिति गठन गर्दै सामाजिक सञ्जालमा फोटो हाल्ने चर्को प्रतिष्पर्धा छ । 

अनि फोटोमा बधाई दिने र अर्को दलका कार्यकर्तालाई आफ्नो बहुमत देखाउने होडबाजी पनि उत्तिकै छ । त्यसमाथि अर्को दलका कार्यकर्तालाई आफ्नो दलमा प्रवेश गराएर विजयी भावमा चुनाव जितेको घोषणा गर्न मात्रै बाँकी रहेको आशक्ति पनि दलका नेताहरुमा देखिन्छ ।

अर्को दलका दुई चार जना कार्यकर्ता तानेर आफु शक्तिशाली बनेको र जनताको भरोसायोग्य नेता बनेको स्वघोषित रणनीति फेसबुकमै सिमित छ । आफ्नो दलको प्रभाव कायम गर्न र कार्यकर्तालाई आफूतिर तान्न जिल्लास्तरका नेता, कार्यकर्तादेखि पूर्वमन्त्री र पूर्व सांसदको समेत ठेलमठेल उपस्थिती देखाउने चर्को होडबाजी कायमै छ । 

समग्रमा यो कांग्रेस र नेकपाका नेताहरुको अस्वस्थ्य प्रतिष्पर्धा बाहेक केही होइन् । आफूले टोल समिति गठन नगरे अर्को दलले कार्यकर्ता लैजान्छ भन्ने मानसिकताबाट ग्रसित नेता कार्यकर्ता रातारात कोरोना महामारीमै दलीय टोल समिति गठन गर्ने होडबाजीमा उत्रिनुले यो बेमौसमी बाजा बाहेक अरुथोक हुन सक्दैन ।

आज धमाधम टोल समिति गठन गरेर भोलि रोजगारीका लागि भारत जानुपर्ने युवाहरुलाई रोक्ने योजना के छ ? दशैँमा दुई चार दिनका लागि आएर फेरि भारतकै चौकीदारीमा जीवन गुजार्नुपर्ने कहिलेसम्म ? यस्ता अनेकौ प्रश्नको उत्तर दिने ल्याकत राखेर मात्रै दलका नेताहरुले टोल समिति गठन गर्ने हतारो गरे हुन्थ्यो ।

अन्यथा आज दलको प्रतिबद्ध कार्यकर्ता भनी शपथ खुवाउने तर भोलि उनीहरु दुई छाक खान र खुवाउन भारत जानुपर्ने र नेताहरु जिल्लामा बसेर आरामको जीन्दगी जिउनुपर्ने कथित स्वार्थको राजनीतिक चपेटामा जनतालाई पारिरहने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । 

कार्यकर्तालाई आफूतिर तान्न नेताहरु पहिले जनताको जनजीविकाको सवालमा गम्भिर हुन आवश्यक छ । गरीबी, बेरोजगारी, जातीय विभेद, सामाजिक कुप्रथाहरुलाई क्रमशः घटाउदै समुन्नत समाजको निर्माण गर्न स्प्ष्ट भिजन ल्याउन जरुरुी छ । त्यसका लागि पो टोल समिति गठन गरेर विकासे लहर चलाउन आवश्यक ठानिएला । 

होइन भने जनतालाई सधै बलिको बोको बनाएर नेताहरु सुकिला मुकिला हुने प्रवृत्ति धेरै समय टिक्ने अवस्था रहदैन । त्यसमाथि महामारीको बेला समेत दलीय स्वार्थ लिएर जनतालाई 'भेडा' बनाईराख्ने मानसिकता नेताहरुकै लागि घातक हुन सक्छ । यस्तो बेला आफू जोगिएर जनतालाई महामारीबाट जोगाउने पहिलो दायित्व नेताहरुको हो । जुन इमान्दारीका साथ पूरा गर्नुपर्छ । 

 


प्रकाशित मिति: शनिबार, असोज १०, २०७७, ११:४६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, असोज १०, २०७७, ११:४६:००
खुल्न थाले शक्तिपीठ शनिबार, असोज १०, २०७७, ११:४६:००