शिक्षा

विद्यालय सञ्चालन गर्न दिने चौकुने गाउँपालिकाको निर्णय 

घाटगाउँ डटकम

११ असोज, सुर्खेत । चौकुने गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य सुरक्षा मापदण्डको ख्याल गर्दै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सोमबारदेखि गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने दिने निर्णय गरेको हो ।

असोज ५ गते बसेको गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरुको बैठकले विद्यार्थीको पठनपाठन र शैक्षिक सत्रको अवस्था हेरेर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै विद्यालय सञ्चालन गर्ने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष र सुझावका आधारमा गाउँपालिकाले विद्यालयको पठनपाठन सुचारु गर्न दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए । 

गाउँपालिकाको यो निर्णयसँगै गएको चैतदेखि ठप्प बनेका विद्यालय ७ महिनापछि खुल्ने भएका छन् । दशैँ आउन केही दिनअघि मात्रै विद्यार्थी भर्ना, पुस्तक वितरण तथा पठनपाठन कार्ययोजना निर्माण लगायतका काम स्कुलमा हुनेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशनका आधारमा विद्यालय सञ्चालन गर्ने निर्णय गाउँपालिकाले गरेको अध्यक्ष धीरबहादुर शाहीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । औपचारिक निर्णय आउन ढिला भएपनि चौकुनेमा यसअघिदेखि नै फाट्टफुट्ट विद्यालय सञ्चालन हुदैँ आएका थिए भने कतिपय विद्यालयले भर्ना समेत शुरु गरिसकेका थिए । 

 


प्रकाशित मिति: आईतबार, असोज ११, २०७७, २२:४२:००
प्रतिक्रिया दिनुहोस्