राजनीति

सङ्गठन पुर्नगठनतिर माओवादी केन्द्र

घाटगाउँ डटकम

बागलुङ : नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नगठनमा लागेको छ । पार्टी केन्द्रले देशभरका वडा कमिटी पुर्नगठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएको छ ।

पचासी वटै वडामा नयाँ कमिटी बनेको माओवादी केन्द्रका जिल्ला सचिव ज्ञामनाथ गैरेले जानकारी दिए  । एकतापछिको नेकपा छँदा एमाले र माओवादी केन्द्र समायोजित भएर केन्द्रदेखि वडासम्म पार्टी कमिटी गठन भएका थिए । त्यसबेला एउटा पार्टीबाट अध्यक्ष र अर्कोबाट सचिवमा चुनिएका थिए । वडामा पनि त्यही प्रकृतिको कमिटी क्रियाशील थियो । नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुर्नगठनमा जानुपरेको सचिव गैरेले बताए ।

नेकपाको नेतृत्वमा रहनुभएका साथी अहिलेको कमिटीमा पनि कायमै हुनुहुन्छ”, उनले भने, रिक्त रहेका पदमा नयाँ साथीले जिम्मेवारी पाउनुभएको छ ।” सचिव गैरेले साङ्गाठनिक जग बलियो नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने भन्दै त्यसका लागि गाउँ फर्किनुपर्ने उल्लेख गरेका छन् । कमिटी पुर्नगठनका क्रममा अन्य दल परित्याग गरी आएकालाई पनि एकताबद्ध गरिएको माओवादी केन्द्रले जनाएको छ । वडामा बढीमा २९ सदस्यीय कमिटी बनाउन पाउने प्रावधान पार्टी केन्द्रले तोकेको छ ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा वडा तहका कमिटी पुर्नगठनको प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । वडासँगै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मको पार्टी सङ्गठनलाई पुर्नगठन गर्ने तयारीमा माओवादी केन्द्र छ । माओवादी केन्द्रको जैमिनी नगरपालिका–८ छिस्ती वडा कमिटीका अध्यक्ष प्रकाश पौडेलले पार्टीको जनाधार मजबुत पार्न तल्लो तहका कमिटी सक्रिय हुनुपर्ने बताए । उनले पार्टी पुर्नसंरचित हुँदा त्यसले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । रासस 


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८, ०२:०१:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, साउन ३२, २०७८, ०२:०१:००
खुल्न थाले शक्तिपीठ सोमबार, साउन ३२, २०७८, ०२:०१:००