राजनीति

बागमती प्रदेशको आठौँ अधिवेशन अन्त्य

घाटगाउँ डटकम

मकवानपुरः बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका छन । प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्य गर्नुभएको उहाँको सचिवायले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को सिफारिस लगत्तै नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन । गत जेठ १६ गतेदेखि सञ्चालनमा भएको बागमती प्रदेशसभाको आठौँ अधिवेशनले हालसम्म २४ वटा बैठक बसेको थियो ।

त्यस अवधिमा प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । त्यसैगरी प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित र प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।

यसै अधिवेशन बैठकको भदौ २ गते बागमती प्रदेश सरकार परिवर्तन भएको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएलगतै प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन भएका थिए । उनी मुख्यमन्त्री भएपछि दुई वटा मन्त्रिपरिषद् बैठक बसिसकेको छ । रासस


प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८, ००:१९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, भदौ १२, २०७८, ००:१९:००
खुल्न थाले शक्तिपीठ शनिबार, भदौ १२, २०७८, ००:१९:००