राजनीति

समाजवाद स्थापनाको कार्यभार पूरा गर्न लागौँ : पुन

घाटगाउँ डटकम

काठमाडौँः नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीले लिएको समाजवाद स्थापनाको कार्यभारलाई पूरा गर्ने गरी अगाडि बढ्न युवालाई आग्रह गरेका छन । वाईसीएल नेपालको जारी राष्ट्रिय भेलाको सम्बन्धमा आज आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै उनले आर्थिक विकास सहितको समाजवादी यात्राका लागि युवाले नै  नेतृत्व गर्ने भएकाले सोही अनुसारको कार्ययोजना र त्यसको कार्यान्वयन जरुरी रहेको बताए ।

राजनीतिक परिवर्तनलाई स्थायी बनाउँदै देश र जनताको आवश्यकतालाई परिपूर्ति गर्ने गरी युवाले अब हरेक क्षेत्रमा पहलकदमी लिनुपर्ने उनको भनाइ थियो । वाईसीएलको श्रव्य दृश्यका माध्यमबाट जारी राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्र जारी रहेको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, आर्थिक प्रतिवेदनको छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

भेलामा अध्यक्ष रामप्रसाद सापकोटाद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जित भई पारित गरिएको हो । समृद्धि, उत्पादन र विकास केन्द्रित रहेर हालसम्मका उपलब्धिको रक्षा गर्दै सङ्गठनलाई नयाँ प्रणालीमार्फत डिजिटलाइज गर्दै जनजीवनको उत्थान गरी समाजवादी बाटोमा अगाडि बढ्ने निष्कर्ष प्रतिवेदनको रहेको छ । बन्दसत्रले २३१ सदस्यीय केन्द्रीय समिति, ३५ सदस्यीय पदाधिकारी र तीनवटा केन्द्रीय आयोग निर्माण गर्ने भएको छ ।

वाईसीएलले राष्ट्रिय भेलाबाट सहमतिमा नै नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष सापकोटाले अध्यक्षबाट हट्ने निर्णय गरिसक्नुभएको छ । उनले  नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै नयाँ नेतृत्वसमेत सहमतिमा चयन गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष सुमन देवकोटा र महासचिव  सुबोध श्रीपालीले अध्यक्षमा इच्छा व्यक्त गरेका छन । छलफलका आधारमा सोमबार नेतृत्व चयन हुने वाईसीएलले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८, ००:५०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, भदौ १४, २०७८, ००:५०:००
खुल्न थाले शक्तिपीठ सोमबार, भदौ १४, २०७८, ००:५०:००