विविध

दलालहरु हाँसिरहेका होलान्

घाटगाउँ डटकम

म सोह्र घण्टा बालुवामा पसिना बगाइरहेको छु । 
परिवार अनि देशका लागि आम्दानी गरिरहेको छु ।। 
रहर त मलाई पनि आफ्नै देशमा रमाउने थियो । 
आमाको काखमा लडीबुडी गर्ने मन थियो । 

आखिर मेरो वेदना फरक भयो । 
त्यही उकाली, ओराली गर्दा गर्दै
‘बा’ दमको  व्यथाले थलिन थाले ।
आमा बा’कै व्यथाले थलिन थालिन्  । 

विस्तारै विस्तारै घर धन्दा चलाउँन पनि गाह्रो भयो ।
‘बा’को त्यो व्यथा झन् झन्  साह्रो भयो ।।
छिमेकीले पैँचो चलाउन मानेनन् ।
हाम्रा दिन आउँलान भन्ने कहिले ठानेनन् ।
 
आमाको त्यो पटुकी भित्र छिरेको भोको पेटले मलाई गिज्याइरहेको थियो ।  
जहाँबाट मेरो उत्पत्ति भएको थियो ।। 

‘बा’को त्यो कानको वरिपरिबाट आड दिइरहेका घुँडाहरुले मलाई गिज्याइरहेका थिए । 
जो मेरो बाल्यकालमा आमाको अतिरिक्त भरोसा अनि आत्मियताको मियो बनेका थिए ।। 

मलाई यस्तो लाग्न थाल्यो आमाको अनुहारमा खुसी हराउँदै थियो ।  
‘बा’को मन हडबडाउँदै थियो ।
दाजुहरु जागिर गर्न शहरमा गएका थिए,
भाउजुहरु उतै बस्ने रहरमा गएका थिए ।

दिदिहरु पनि टाढा टाढा थिए, म लाठे भइसके । 
छिमेकीले कुरा काट्न थाले साहुहरुले डाँटन थाले 
अनि म सँग विकल्प के नै थियो र । 
 
एकदिन बिहान पर्दै थियो, म झन मस्त निन्द्रामा थिए, 
आमा एक्कासी कराउँदै थिइन्, ‘बा’लाई सुनपानी चढाउँदैै थिइन्  । 
म पनि त्यही घोप्टो परेर बेसरी रोए । 
मेरो त्यो रुवाइको कुनै मुल्य थिएन् । 
त्यो शरिरले कुनै सुन्नेवाला थिएन् । 
त्यो शरिरमा मेरा ‘बा’ थिएनन् । 
र, ‘बा’ले मेरो खुसी हेर्न पाएनन् ।

आमाले जसो तसो गरेर १२ सम्म पढाइन् । 
 अलिअलि आँखा देख्ने गराइन् ।
रोजगारी त मेरो देशमा कहाँ पाउनु र ?
सानो तिनो जागिर खोज्दै कहाँ कहाँ धाउनु र ?

तर मेरो लागी अन्तिममा एउटैै विकल्प हात लाग्यो त्यो हो विदेश । 
अनि दिदिले गाउँको साहुलाई कुरा गरिछिन्  । 
भिनाजुलाई  लुकाएर ऋण कारिछिन् ।

त्यहीं ऋणले मैले पासपोर्ट बनाए । 
विदेश जानेकुरा आमालाई जनाए ।
आमाको मन त मलाई विदेश पठाउने पटक्कै थिएन । 
घरमा बसी आमाको सेवा गर्ने मेरो भाग्यले दिएन ।

अनि आमालाई एउटा साथि चाहियो रे । 
बुढेसकालमा खेलाउने नाती चाहियो रे ।
समय १ महिना मात्र बाँकी थियो । 
बिहे गर्ने चाँजोपाँजो गरियो ।
आमाको हातमा बुहारी सुम्पिए । 
म विदेशको यात्रामा लम्किए ।

बुढेसकालमा आमाको साथ छोड्दाको पीडा । 
खुलेर श्रीमतीलाई अँगालोमा कस्न नपाउँनुको पीडा । 
त्यो भयङ्कर जहाजबाट आफ्नो देशको जमिन छोड्दै गर्दाको पीडा । 
असंख्य घाउहरु चहर्‍याउँदै थिए ।
 
यो बिरानो मुलुकमा म आफुलाई चिनाउँदै थिए । 
काम पनि अप्ठेरो छ दाम पनि कम छ । 
उता साहुको ऋण तिर्नु छ । 
घरमाथिको खर कुहिएको छ रे । 
यसपालीको  वर्षातमा एक पट्टिको बान्नो भत्किएको  छ रे । 
त्यो पुरानो घरको मुहार फेर्नुछ ।

उता श्रीमतिलाई भिडियो कल गर्ने मोबाइलको रहर थियो । 
पहिले उनको इच्छा पुरा गर्नु थियो । 
अनि फेसबुकले उनको अतृप्त इच्छा पुरा गरेछ । 
आमाको रहर सबै मरेछ ।

मलाई भिडियो कल गर्ने उनको योजना फेरिएछ । 
त्यो कोमल अनि भर्खरै फक्रिएको उनको वदन 
अर्कैको अँगालोमा बेरिएछ ।

मलाई झट्कामाथि अर्को झट्का लागिरह्यो । 
बुढेसकालमा ‘बा’को शेषपछि एक्लिएकी मेरी आमा । 
मेरो विदेशको यात्राले झन् टुटेकी थिइन् । 
त्यसमाथि मेरो अनुपस्थितिमा नाती नातिना खेलाएर मन भुलाउने मेरी आमाको सपना
पुरा हुन नपाउँदै तुहिएको थियो  ।

हन्डर र ठक्करहरुको बीचबाट पनि पीडाहरुलाई दबाउँदै 
हिजो धौ धौ खोले पाक्ने भाँडोमा मसिनो चामल पकाउने सपना पुरा गर्न संघर्ष गरिरहेछु ।
माटोले लिपेको घरको भित्तामा सिमेण्ट लगाउने, खरको छानो फालेर जस्ताले छाउने सपना पुरा गर्न संघर्ष गरिरहेछु । 
यस्तै यस्तै अनगिन्ति सपनाहरु पुरा गर्नका लागि डबल ड्यूटी गरिरहेको छु ।
 
थोरै बाँकी समय निकालेर समाचार सुन्ने मेरो बानी
झनै आजकाल मलाई अर्को पीडा थपिदिएको छ ।
भ्रष्टाचारीहरु दिनानुदिन फस्टाउँदै छन् । 
दुःखी, गरिब अनि अन्यायमा परेकाहरुको आशा अनि भरोसाहरु अस्ताउँदै छन् ।

नेताहरु ठेकेदार बन्दै, कार्यकर्ताहरु दलाल बन्दै छन्  । 
कर्मचारीहरु घुसिया बन्दै, चिया पसलदेखि सिंहदरबारसम्म कमिशनको ‘बार्गेनिङ’ चलाउँदै देश बेचिरहेका छन् । 

के यसरी देश बन्छ ? के यसरी समृद्धि हाँसिल हुन्छ ?
हामी परिवार बिगारेर देशका लागि खुनपसिना बगाइरहेका छौं । 
सरकार आखिर कहिले सम्म ? 
के हामिलाई आफ्नो देशमा आफ्नो परिवारसँग बसेर जीवनयापन  गर्ने अधिकार छैन ?

प्रेमपुञ्ज, काठमाडौं 


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८, १३:३३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो मंगलबार, भदौ १५, २०७८, १३:३३:००
खुल्न थाले शक्तिपीठ मंगलबार, भदौ १५, २०७८, १३:३३:००