समाज

जनार्दनले अभिभावकत्व लिएका बालिकामाथि बलात्कार 

घाटगाउँ डटकम

 

रुकुम पश्चिम : रुकुम पश्चिमको एक बालगृहमा राखिएकी बालिकामाथि दुई वर्षदेखि बलात्कार भइरहेको पाइएको छ । बालगृहमा राखिएकी १२ बर्षिया बालिकामाथि स्थानीय वडाध्यक्ष र बालगृह सञ्चालिकाका कान्छा छोराले बलात्कार गरेका हुन् । वडाध्यक्ष गंगाराम र सञ्चालिका सुनिता श्रीमान श्रीमती हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले तीन वर्ष पहिले भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेर संरक्षण गर्दै आठबिसकोट नगरपालिकामा सञ्चालित सिस्ने हिमाल बालगृहकी राखिएकी बालिकामाथि दुई वर्षदेखि बलात्कार भइरहेको पीडित पक्षले जनाएको छ ।

कोरोना भाइरसले उत्पन्न पहिलो चरणको लकडाउनदेखि दोश्रो भेरियन्टको कारण भएको लकडाउन अवधिसम्म आफूमाथि बलात्कार भइरहेको बताउँदै पीडित बालिकाले उजुरी दर्ता गराएकी छन् । आठबिसकोट नगरपालिका १० का वडाध्यक्ष गंगाराम चनारा र वालगृह सञ्चालिका सुनिता चनाराका छोरा रवि भनिने कुश्माकर चनाराले दुई वर्षदेखि ती बालिकामाथि बलात्कार गरिरहेको पाइएको हो ।

कसरी भयो बलात्कार ?

पीडित बालिकाका अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा संचालिका सुनिताले आफूहरुलाई आठबिसकोट १० स्थित घरमा लिएर काममा लगाउने गरेकी थिइन् । उनले वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी हाल्ने र बोइलर कुखुरा पालनको काममा चारो हाल्ने नियमित काममा लगाएको बताएकी छन् ।

सोहि बेला कुखुरालाई चारो हाल्न खोरमा गएको मौकामा वडा अध्यक्ष गंगाराम र संचालिका सुनिताको कान्छो छोरा रविले पछाडिबाट आएर मुख थुनेर बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । यसरी बलात्कार गरेको कुरा अन्त कतै अरुलाई भनेको थाहा पाए मारिदिने धम्की दिएका कारण अरुलाई भन्न नसकेको पीडित बालिकाले बताएकी छन् । 

२०७७ सालको लकडाउन देखि २०७८ को लडडाउनको बेलासम्म रविले पटक पटक बलात्कार गरेका हुन् । यो अपराधकर्म त्यतिबेला बाहिर आयो, जतिबेला बालिकाको पेटमा गर्भ रह्यो । महिनावरी रोकिएपछि उनले आफूमाथि भइरहेको बलात्कारबारे अरुलाई भन्न बाध्य भएकी हुन् । उनी अहिले १४ वर्षकी भइन् ।

भदौ १९ गतेका दिन आठबिसकोटको नगर अस्पतालमा गराइएको स्वास्थ्य जाँचमा पनि बालिका गर्भवती रहेको पुष्टि भएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको रिर्पोट अस्पतालले दिएको छ ।

पीडित बालिकाले बालगृहको नाममा आफुमाथि बलात्कार गर्नुका साथै बालश्रम शोषण गरेको र वडा अध्यक्ष समेतले आफूलाई शारिरीक शोषण तथा हिंसा गरेको बताएकी छन् ।

भदौ १७ गतेका दिन आफू कोठामा पढिरहेको बेला वडा अध्यक्ष गंगाराम चनाराले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औला राखेर रगटेको भन्दै ती बालिकाले आफूलाई बलात्कार गर्ने रवि, वडाध्यक्ष गंगाराम र बालगृह सञ्चालिका सुनिताविरुद्ध उजुरी दिएकी छन् । 

बालिकाले आफू माथी भएको यो अन्यायविरुद्ध न्यायको माग गर्दै आठबिसकोटस्थित न्यायिक समितीमा उजुरी दिएकी हुन् । प्राप्त जानकारी अनुसार न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने भएकोले आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आवश्यक कारबाहीको माग गरेर निवेदन पठाएको छ । 

जिल्ला प्रशासन कार्यालयले पनि जिल्ला प्रहरी कार्यालयलाई अभियुक्तहरुलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउन भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ । २०७४ सालमा बाल गृहमा पढ्न भनेर बसकी ती बालिका त्यो बेलामा कक्षा ३ मा भर्ना भएकी थिइन् । उनी सहित गृहमा बसिरहेका १२ जना अभिभावकविहीन बालबालिकालाई २०७६ सालमा जनार्दन शर्माले अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गरेका थिए । 

यसबारेमा प्रतिक्रिया लिन खोज्दा वडाध्यक्ष गंगाराम र सञ्चालिका सुनिता सम्पर्कमा आउन चाहेनन् । 


प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८, १३:१३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, भदौ २१, २०७८, १३:१३:००
खुल्न थाले शक्तिपीठ सोमबार, भदौ २१, २०७८, १३:१३:००