राजनीति

राष्ट्रियसभा अध्यक्ष राउटेबस्ती जानुको रहस्य

घाटगाउँ डटकम

काठमाडौँ : असोज १ गते विश्वकर्मा पूजा थियो । शुक्रबारको दिन सल्यानबाट एउटा समाचार आयो, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सल्यानको राउटे बस्तीमा । काठमाडौँमा राजनीतिक माहोल तातेका बेला राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सुटुक्क राउटे बस्ती पुग्नुले चर्चा पाउने भयो नै ।

केही सुरक्षाकर्मी, केही पत्रकार, केही कर्मचारी, केही अभियान्ता र एमाले कार्यकर्ताका साथ राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सल्यान पुगेका थिए । मोटरबाटो भएर सल्यान पुगेका उनको साथमा केही उपप्राध्यापक र राउटे विषयका जानकार पनि थिए ।

उनले राउटे बस्तीमा केहीलाई राहत वितरण गरे । केही समयअघि दाङ पुगेर फेरि सल्यान फर्केका राउटे बस्तीको उनले चौतर्फी अध्ययन, निरीक्षण र अन्तरक्रिया पनि गरे । राष्ट्रियस्तरकै संवैधानिक रुपमा पनि पाँचौ वरियताका अति महत्वपूर्ण भीभीआइपी व्यक्ति राउटेबस्ती पुग्नु, चाँसो राख्नु र उनीहरुको जीवनयापन सहज बनाउन पहल खेल्नु आफैमा सकारात्मक कुरा हो ।

उनले राउटे बस्तीमा पुगेर राहतले नभई नयाँ र दीर्घकालिन योजनाले मात्रै लोपोन्मुख राउटे बस्तीको संरक्षण गर्न सकिने बताए । भीभीआइपी व्यक्तित्वले त्यति बोल्नु र राउटे बस्तीमा एकपछि अर्को गरी भीभीआइपी प्रवेश गर्नु संयोग मात्रै होइन, फरक र अनौठो विषय पनि हो ।

राउटे आफैमा एकान्त मन पराउने र आफ्नै धुनमा जीवन चलाउन खोज्ने मानव जाति हो । तर पुर्खौदेखि आफ्नो बर्चश्व हावी गर्न चाहने मानिसका गतिविधिका कारण राउटे बस्ती विस्तारै असन्तुलित हुँदै गएको छ । त्यसमाथि राष्ट्रकै पाँचौ भीभीआइपी व्यक्तिले यसबारेमा नबुझ्ने र वास्तविकता थाहा नपाउने कुरै भएन ।

यो एउटा घटनाक्रम मात्रै हो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना एकाएक राउटे बस्तीमा पुग्नुका पछाडि अर्को राजनीतिक कारण छ । जसले यतिबेला भित्रभित्रै एमाले र नेकपा एकिकृत समाजवादीभित्र व्यापक चर्चा बढ्दो छ ।

झाँक्री-ज्वाला भर्सेज गणेश तिमिल्सिना !

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सुटुक्क राउटे बस्तीमा पुगेका बेला माधव नेपाल नेतृत्वका नेताहरुले सल्यानमा आफ्नो प्रभाव जमाउने भाषण गरिसकेका थिए । राष्ट्रिय राजनीतिमा बलियो पाइला टेकेकी रामकुमारी झाँक्रीले सल्यानमा माधव नेपालले नयाँ पार्टी खोल्नुको उद्धेश्य, एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनबारे थुप्रै शब्दवाण हानेकी थिइन् ।

कर्णालीमा एमालेलाई टकराव दिन माधव नेपालले राष्ट्रिय राजनीतिकै बलियो सम्भावना भएर उदाएकी झाँक्रीलाई कर्णाली पठाएका थिए । कर्णालीमा फ्लोर क्रस गरेर एमाले विभाजनको रेखांकन गरेका प्रकाश ज्वालाले सुरुआतमै झाँक्रीलाई सल्यानमा उतारे ।

गृह जिल्लामा झाँँक्रीको बोली सुन्न पनि युवा नेता कार्यकर्ताको लाइन लाग्यो । राजनीतिमा युवा आकर्षण बढेका बेला हटकेक बनेकी झाँक्रीलाई हेर्नकै लागि धेरै कार्यकर्ता सडक र कार्यक्रमस्थलमा देखिए ।  सदरमुकाम खलंगामा भएको भव्य कार्यक्रममा झाँक्रीले आफ्नो भाषणसुत्र बताउँदै गइन् ।

नेता कार्यकर्ताबाट ताली पाउँदै गइन् । माधव नेपालकै सल्लाह र योजनामा झाँक्री कर्णाली उत्रिएकी हुन् । सल्यानमा उनको बोलीले राम्रै प्रभाव जमायो । प्रकाश ज्वालाको विशेष गढ मानिने सल्यानमा झाँक्रीको भाषणले झन् चर्चा र महत्व बढाउने भयो नै ।

सल्यानमा नेकपा एकिकृत समाजवादीको र्‍यालीमा प्रकाश ज्वाला र रामकुमारी झाँक्री । फोटो :दुर्गा बिसी 

नेकपा एकिकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका प्रकाश ज्वालाले झाँक्रीले सहयोगबाट सल्यानमा धेरै कार्यकर्तालाई पार्टीमा भित्र्याउन सफल भए । यसको क्लोज रिर्पोटिङ गरिरहेका एमाले नेता कार्यकर्ताले अध्यक्ष ओलीसम्म यो सन्देश पुर्याए । 

उनले तुरुन्तै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिेनालाई फिल्डमा उतारे । सुर्खेत पुगेका तिमिल्सिेनालाई सल्यानको राउटे बस्तीतिर सोझ्याए । जहाँबाट उनले माधव नेपालको प्रभाव क्षेत्रलाई राष्ट्रिय रुपमा नै चर्चा पाउन सक्ने पात्रलाई उभ्याएर प्रभाव जमाउने प्रयास गरे ।

कर्णाली प्रदेशका एमाले प्रमुख सचेतक गुलावजंग शाहलाई लिएर सल्यान उत्रिएका राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले गोप्य कार्यकर्ता भेलामा ओलीको सन्देश सुनाएर पार्टीलाई कमजोर हुन नदिन कार्यकर्तालाई भनेका थिए ।

सोही अनुसार तिमिल्सिनाले आफ्नो पार्टीगत दायित्व पूरा गरे । सल्यानमा यतिबेला कोभिड महामारीपछि कसरी जिविकोपार्जन गरौँ भन्ने चिन्ता बढेका बेला राउटे बस्तीलाई इपीसेन्टर पारेर राजनीतिक परकम्प पठाउने काम भइरहेको छ ।

राउटेबस्तीमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना । फोटो : तिमिल्सिनाको सचिवालय

जुन बाहिरबाट हेर्दा सामान्य भएपनि केन्द्रमा जस्तै कर्णालीमा ओली भर्सेज माधव नेपालको कडा प्रतिष्पर्धा चलिरहेको छ । त्यही प्रतिष्पर्धा अन्तर्गत सल्यानमा रामकुमारी झाँक्री तथा प्रकाश ज्वाला एकातिर र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना अर्कोतिर आमनेसामने भएका हुन् ।

भलै एकदुई दिनको फरक भएपनि आफ्नो राजनीतिक उद्धेश्य पुरा गर्न दुवै पार्टीका नेताले भरपुर कार्यकर्ता तान्ने प्रयास गरिरहेका छन् । प्रकाश ज्वालाको पकड क्षेत्र भएकाले ओलीले राष्ट्रियसभाकै अध्यक्ष तिमिल्सिनालाई मैदानमा उतारेपनि केही फरक नपर्ने बुझाई माधव नेपालतिरका नेताको छ ।

तिमिल्सिनाको राउटे बस्ती भ्रमणपछि झाँक्रीले संविधान दिवसको दिन जाजरकोटको कार्यक्रमलाई सम्बोधन गर्ने तयारी छ । जाजरकोट पुगेपछि उनले कर्णाली अरु केही जिल्लामा पनि कार्यकर्तालाई प्रशिक्षण दिने चर्चा छ । यसले कर्णालीमा नेकपा समाजवादी एमालेभन्दा बलियो बन्ने भरपुर प्रयासमा छ । 

कम्तीमा आगामी चुनावमा एमालेलाई धक्का दिएर सम्मानजनक सिट ल्याएर माओवादी र कांग्रेससँगै सत्तामा बसिरहने नेकपा समाजवादीको भित्रि उद्धेश्य छ । कर्णालीबाटै नेकपा र एमालेको विभाजन रेखांकन भएकाले पनि ओली र माधव नेपालको चिन्ता र चाँसो धेरै कर्णालीमा धेरै छ । सोही अनुसार सल्यानमा दुवै पार्टीका प्रभावशाली नेताहरु आमनेसामने भएर आफ्नो प्रभुत्व जमाउन लागिपरेका हुन् ।


प्रकाशित मिति: आईतबार, असोज ३, २०७८, १६:५१:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो आईतबार, असोज ३, २०७८, १६:५१:००
खुल्न थाले शक्तिपीठ आईतबार, असोज ३, २०७८, १६:५१:००