स्वास्थ्य

बिचार

लाख संक्रमितमा सरकार र जनताले गर्नुपर्ने काम

डा. रवीन्द्र पाण्डे

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । काठमाडौं उपत्यका लगायतका ठाउँमा आईसियु बेड मात्र होइन, संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ । शहरमा भीडभाड झन् झन् बढ्दै गएको छ । तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ । उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको देखिन्छ ।

यद्यपी यसको अध्ययन अनुसन्धान चल्दैछ । अब कोरोना भयावह भइसकेका बेला कसरी बच्ने त ? यो निकै चुनौतिपूर्ण काम तपाई हाम्रा अगाडी छ । सरकारले ५ महिना लामो लकडाउन र दुई महिना लामो निषेधाज्ञा जारी गरेपनि कोरोना नियन्त्रण गर्न सकेन । सरकारले नसकेको काम अब जनता आफैले गरेर कोरोनाबाट बच्नुको विकल्प छैन् । यसका लागि निम्नलिखित काम गरौ :

१. जनस्वास्थ्यका मापदण्ड पालना गरौँ । अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् । स्वास्थ्य मन्त्रालयले परिक्षण व्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने । आवश्यकता अनुसार  ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम सरकारले गरोस ।

२. सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल (प्रिफ्याबको, अस्थायी) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र समय प्रदान गरोस् । 

३. काठमाडौं महानगरपालिकासहित विभिन्न महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थिए । त्यो कार्यान्वयन होस् । 

४. हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं । सामान्य लापरवाही गर्दा पनि धेरै व्यक्ति संक्रमित भएका छन् । त्यसै सतर्क बनौ ।

५. घरबाहिर निस्किन अनिवार्य भएमा सहि तरिकाले मास्क लगाऔं । जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ । भीडमा जाने दुस्साहस नगरौं  ।

६. जसरी ज्यान जोगाउन आकाशमा लस्करै उड्ने तालचराहरु साइबेरियादेखि नेपाल आउँछन् । प्रतिकुल समयमा सर्पलगायत सरिसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त कहिले त्यो देशमा बसाइ सर्छन्, त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं । यो सम्पूर्ण प्राणीको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो । यसलाई पालना गरौ ।

७. अहिले ९० प्रतिशत संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ । बाँकी ५ प्रतिशतलाई लाई अप्ठ्यारो गरि निको हुन्छ । बाँकी ५ प्रतिशतलाई आईसियुको आवश्यकता हुन्छ । कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन । त्यो ५ प्रतिशतमा हामी जो कोहि पनि पर्न सक्छौं । तसर्थ १०० प्रतिशत सावधानी अबलम्बन गरौ । कोरोनालाई सामान्य नठानौ । नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ्य हुनु हैन । कोरोनापछि यसको दीर्घकालिन असर पनि त्यत्तिकै चिन्ताजनक छ ।

८. आधिकारिक सूचना र सल्लाह मात्र अनुसरण गरौँ । भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार वैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ । तसर्थ अपडेट हुने बानी बसालौं । 

९. राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मीलगायत सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ ।

१०. महामारीको समयमा सकारात्मक सोच, सहयोगी ब्यबहार तथा आशावादी गुण नै ठूलो अस्त्र हो । तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ ? कसरी सकिन्छ, योगदान गरौँ ्र सरकार र नागरिक जिम्मेवार तथा अनुशाशित बनौं  । यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं ।
 


प्रकाशित मिति: शनिबार, असोज २४, २०७७, ०८:४३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, असोज २४, २०७७, ०८:४३:००
खुल्न थाले शक्तिपीठ शनिबार, असोज २४, २०७७, ०८:४३:००