ब्लग

'कोरोना लागे मरिन्छ भन्थे, म जितेर घर फर्किए'

टेकेन्द्र बुढा

स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएपछि एकछिन त रनभूल्लमा परियो । के गर्ने ? कसो गर्ने ? कहाँबाट कोरोना सरेको हो ? कुन व्यक्तिबाट सरेको हो भन्ने पनि ठम्याउन गाह्रो भयो । कोरोना महामारीबारे जुन किसीमको हल्ला र चिन्ता छ । यो आफैमा संक्रमित भएपछि झन् बढेर आउँछ ।

पहिलो कुरा त, रिर्पोट पोजेटिभ आउनेवित्तिकै एक किसीमको अत्यास लाग्यो । स्वस्थ्य सामान्य हुँदा पनि सास बढेजस्तो हुने, टाउको दुखेको अनुभव हुन्छ । कोरोना लागेको पुष्टि भएको रिर्पोट पाएपछि टाउको र छाती छाम्दा ज्वरो आएको फिल हुन्छ । एक किसीमले कोरोना लागेपछि ओहो अब त पहिलेको जस्तो हुदैन जस्तो हुन्छ ।

कोरोना लागेपछि संक्रमित भइन्छ । यो एक शब्द मात्रै हो । अवस्था सामान्य भएपनि मनोवैज्ञानिक रुपमा चिन्ता थपिने, एक्लो महसुस हुने र चिन्ता बढ्ने भइरह्यो । खासगरी समाजबाट एक्लो भएको महसुस बढी भयो । मानसिक तनाव चाँही अलि धेरै भयो ।  अनेक कुरा मनमा खेलिरहने भयो ।

शरीरमा खासै कुनै असर देखिदैन् । लक्षण त झनै शुरु शुरुमा देखिदैन । तर आफैलाई ज्वरो आएको जस्तो, घाँटी दुखेजस्तो फिल हुन्छ । तर खास असर हुदैन । शरीरमा त्यस्तो ठूलो समस्या केही पनि निम्तिदैन् । हामीलाई पनि चिन्ता बाहेक अरु केही असर र लक्षण देखिएन ।

शरीरमा कुनै लक्षण नदेखिएपनि कोरोना भन्ने शब्दले मुटुमा जरो गाडिरह्यो । जतिबेला पनि कोरोना महामारी, ज्यानमारा भाइरस, मान्छे मार्ने भाइरस जस्तो मनमा अनेक डर बढिरहयो । बिहान उठेदेखि सुत्दासम्म पनि कोरोना शब्दले मनमा गहिरो असर गरिरह्यो ।

मनमा डर, घरपरिवारलाई चिन्ता !

सुत्दा पनि कोरोनाकै चिन्ता हुने । खासगरी भोलि के हुने हो ? एकछिन पछि के हुने हो ? कस्तो हुने ? केही गाह्रो हुने होइन ? सास फेर्न गाह्रो भएर बेहोस भइने त होइन ? भन्ने चिन्ता लागिरहने । यो हामी संक्रमितलाई त केही तनाव हुन्छ नै । घर परिवारमा झन ठूलो चिन्ता ल्याउने रहेछ ।

साँझ बिहान आमाबुवाले भगवानको नाम जप्ने, ठूलो विपत्ति आइलागेको महसुस घरपरिवारले गर्छन् । त्यसैले अवस्था सामान्य छ भने घर परिवारलाई नभन्नु उचित लाग्यो । यस्तो बेला मलाई सबैभन्दा धेरै खड्केको कुरा, आफूलाई सान्तवना दिने मान्छेको आवश्यकता बढी महसुस हुन्छ ।

आइसोलेसनमा बस्दा एक्लो भइन्छ । साथीहरु भएपनि त्यहाँभन्दा बाहिरको मान्छेले दिने एक एक हौसलाले आत्मबल बढ्छ । यस्तो बेला बाहिरबाट परामर्शकर्ताले राम्रोसँग परामर्श दिएको खण्डमा कोरोना संक्रमितलाई सञ्चो हुन अझ सजिलो हुन्छ भन्ने बुझाई मेरो रह्यो । 

घरमै आइसोलेसन बस्दा राम्रो 

१५ दिनको आइसोलेसनमा बस्दा जुन पीडा मानसिक रुपमा हुन्छ । त्यो साच्चै भन्ने हो भने मानिसलाई कमजोर पार्ने ठूलो संकट हो । त्यसमाथि एकान्तबास राख्ने गर्दा अझ अर्को चिन्ता, व्यक्ति स्वंयम हरेश खाएर आत्महत्या गर्छ कि भन्ने चिन्ता थपिनु स्वभाविक हो । किनभने यति धेरै मानसिक समस्या झेल्नुपर्छ म स्वयंम आइसोलेसनमा बसेपछि महसुस गरे । यसअघि क्वारेन्टाइनमै केहीले आत्महत्या गरेको समाचार पढेको थिए ।

साच्चै त्यहाँ सम्झाई बुझाई नगर्ने हो भने संक्रमितलाई आत्मबल बढाउन गाह्रो हुन्छ । त्यसैले संक्रमित भैहालेमा आइसोलेसनमा भन्दा घरमै आइसोलेसन बस्नु उचित छ । छुट्टै एउटा कोठामा बसेको खण्डमा त्यति धेरै आत्तिनुपर्ने अवस्था छैन् । स्वस्थ्य मानिसलाई कोरोना लागिहालेमा पनि त्यसरी आत्तिनुपर्ने कुनै कारण छेन् । यो सामान्य कुरा हो । आफै सञ्चो हुन्छ ।

आइसोलेसन बस्दा खेल र मनोरञ्जनले धेरै सहयोग पुर्याउछ । त्यसैले हामीले दैनिक खेल खेल्ने र व्यापाम गर्ने तथा मनोरञ्जन गर्ने गर्यौ । यसले पनि हामीलाई दिन कटाउन सहज भयो । कोरोनासंग भन्दा पनि कोरोनाको डरले उत्पन्न हुने मनोविज्ञानले धेरै असर गर्छ । त्यसमाथि समाजले हेर्ने, सोच्ने र गर्ने व्यवहार भयानक छ । कोरोना लागेको थाहा पायो कि विभेद शुरु भैहाल्छ । पर पर भन्दै छोईछिटो गर्न समेत पछि पर्दैनन् । 

कोरोना परीक्षण अनिवार्य नगरौ 

त्यसैले लक्षण नदेखिएपछि कोरोना परीक्षण गर्नैपर्ने व्यवस्था आवश्यक छैन् । लक्षण देखिएपछि परीक्षण गरौ । होइन भने यसले पार्ने मनोवैज्ञानिक असरबाट बच्न झन मूश्किल भएको मैले महसुस गरे । आइसोलेसन बस्दा दैनिक व्यायाम गर्ने, पुस्तक पढ्ने, पत्रपत्रिका पढेर ज्ञान हासिल गर्ने अवसर मिल्यो ।

हल्का रुघाखोकी लागेपनि गम्भिर खालका लक्षण धेरैलाई देखिदैनन् । एक दुई जनालाई देखिन सक्छन् । तर सबैलाई होइन । यस्तो बेला तातोापनी पिउने, सिटामोल खाए राम्रो हुन्छ । खासगरी गाउँघरमै पाइने जडीबुटि औषधि खाँदा पनि कोरोना जित्न ठूलो सहयोग पुग्छ ।

सुरक्षित बनौ, आतंकित नपारौ 

अन्त्यमा, कोरोनाको हल्ला र वास्तविकता धेरै फरक छ । कोरोना रिर्पोट पोजेटिभ आउनेवित्तिकै मान्छे मर्दैन् । यसलाई सामान्य रुपमा लिनु आवश्यक छ । तर समाजमा कोरोना पोजेटिभ देखियो कि मर्छ भन्ने गलत मनोविज्ञान छ । यो सरासर गलत हो ।

कोरोनाभन्दा कोरोना महामारीबाट उत्पन्न डरले संक्रमितको मानसिकता कमजोर हुने गर्छ । कोरोना संक्रमित होस वा अन्य जो सुकै व्यक्तिलाई पनि मनोबल बढाउने सल्लाह सुझाव दिन आवश्यक छ । यसलाई सकारात्मक रुपमा लिएर संक्रमितलाई हौसला बढाउने, यसको सरलीकरण गर्ने र आत्मबल बढाउने गतिविधिमा ध्यान दिन आवश्यक छ ।

म लगायत केही साथीहरु पूरा १५ दिन सँगै बस्यौ । सबैले एक अर्कालाई माया बाड्यौ । हौसला दियौ । केही हुदैन भनेर हौसला बढाउने काम गर्यौ । बाहिरबाट फोन तथा एसएमएस गरेर पनि साथीहरुले हौसला बढाउने काम गरे । स्वास्थ्य लाभको कामना गरे ।

नआत्तिन र चिन्ता नलिन सल्लाह दिए । सामाजिक सञ्जाल फेसबुक लगायतमा शीघ्र स्वास्थ्य लाभको कामना भनेर हौसला बढाए । केही साथीहरुले दैनिक सञ्चो बिसञ्चोको बारेमा सोधे । यसले पनि हौसला दियो । यसका लागि सबैलाई धेरै धेरै धन्यवाद ।

कोरोना महामारी हो, यसको औषधि छैन् । तर कोरोना हल्ला गरेजस्तो भयावह र प्राणघातक रोग चाँही होइन । सबै सकारात्मक रुपमा सामान्य अवस्थामा बस्ने हो भने कोरोना जित्न सकिन्छ । सबै सुरक्षित बसौ । सामाजिक दुरी कायम गरौ । मास्क अनिवार्य प्रयोग गरौ । स्वास्थ्य मापदण्डको पालना गरे कोरोनाबाट आफू बचेर अरुलाई पनि बचाउन सकिन्छ । (कुराकानीमा आधारित)

बुढा चौकुने गाउँपालिकामा शिक्षा अधिकृतका रुपमा कार्यरत छन् ।


 


प्रकाशित मिति: शनिबार, असोज २४, २०७७, १४:५७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, असोज २४, २०७७, १४:५७:००
खुल्न थाले शक्तिपीठ शनिबार, असोज २४, २०७७, १४:५७:००