समाज

यातायात

आर्थिक

दशैंँमा घर जानेलाई सहज

घाटगाउँ डटकम

काठमाडौं । कोरोना महामारीलाई बेवास्ता गर्दै सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि आधा मात्रै यात्रु राख्न दिने निर्णय उल्टाउँदै सबै सिटमा यात्रु राखेर गाडी चलाउन दिने निर्णय गरेको हो ।

खासगरी दशैंँमा घर जानेका लागि सरकारले यो निर्णय गरेको हो । यातायात व्यवसायीले सबै सिटमा यात्रु राख्न नपाए दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेका थिए । व्यवसायीले यस विषयमा अडान लिएपछि सरकार बाध्य भएर आफ्नो निर्णयबाट पछि हटेको हो ।

अब सबै सिटमा यात्रु चढ्न पाउने भएपछि व्यवसायीले यसअघिको भाडा मात्रै लिन पाउनेछन् । अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । साथै काठमाडौ उपत्यका छाडेर घर नजान र बुढा आमाबुवालाई कोरोना नसार्न पनि सरकारले आग्रह गरेको छ ।


प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७, ०७:२१:००
प्रतिक्रिया दिनुहोस्