विविध

मुख्यमन्त्रीसँग उपसभामुख र ईन्चार्जको दुष्मनी के थियो ?  

घाटगाउँ डटकम

समाचार टिप्पणी 

३० असोज, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार ढाल्न दर्ता गरेको अविश्वास प्रस्ताव तुहिएपछि प्रदेशसभाकी उपसभामुख पुष्पा घर्तीले फेसबुकमा लेखिन्, 'चालेका कदमहरु गन्तव्यमा पुग्नैपर्छ भन्ने छैन् । कहिलेकाँही बिच बाटोबाट मोडिएका पाइलाले पनि औधी खुशी दिदो रहेछ ।'

'बत्तीमूनिको अध्यारो सुर्खेत'मा भन्दै लेखेको उपसभामुख घर्तीको स्टाट्समा धेरैले कमेन्ट गरेका छन । त्यसमध्ये नेकपा चौकुने गाउँ कमिटीका सचिव हरि अधिकारीले कमेन्टमा लेखेका छन, "उद्देश्य त गन्तव्यमा पुग्ने नै राख्नुपर्छ । यसका लागि परिपक्व, योजनाबद्द र असल भावनाले ओतप्रोत हुनुपर्छ । योगदान, इमान्दार र क्रियाशीलताले नै गन्तव्य निर्धारण गर्छ । तपाईको गतिविधिले हिनताबोध नहोस । यो राजनीति हो, उतारचढाव हुन्छ । यसमा सहि र गल्ती होइन कि संसदीय व्यवस्थाको उपज हो माननीय उपसभामुख ज्यु ।"

उनको अभिव्यक्तिबाट थाहा हुन्छ, कर्णाली प्रदेश सरकार ढाल्ने असफल प्रयास तुहिएकोमा पूर्वमाओवादी खेमा खुशी छ । स्वंयम उपसभामुख पनि खुशी छिन् । निकै ठूलो बाध्यतामा परेर पदीय मर्यादाको समेत ख्याल नगरी हस्ताक्षर गर्दाको परिणाम उनले अविश्वास प्रस्ताव तुहिएपछि मात्रै थाहा पाएकी छिन् ।

अर्थात उनले एकपटक गरेको गल्ती ढिलै भएपनि समयले सच्याई दिएको छ । यसले उनलाई पनि थप परिपक्व र गल्ती सच्याउने मौका दिएको छ । यसकारण उनी खुशी देखिएकी हुन् । आफ्नै पार्टीको सरकार भएकै कारण सुविधासम्पन्न स्कार्पिया चढेर उपसभामुखको धाक जमाउँदै राजनीतिक शानमा रहेकी घर्तीलाई अविश्वास प्रस्ताव तुहिएपछि कम्तीमा त्यो सुविधा कायमै रहनेछ । साथै बचेको धेरथोर सम्मान पनि यथावत छ ।

यद्यपी आफ्नै पदीय मर्यादाको विश्वास भने उनले कायम राख्न सकिनन् । नेपालको प्रदेशसभाको राजनीतिक इतिहासमा यो नजीर पहिलो भएर बस्नेछ । कि कर्णाली प्रदेश सरकारप्रति कति धेरै असन्तुष्टि छ भनेर उपसभामुखकै हैसियतमा रहँदा पनि प्रदेश सांसदको हैसियतले अविश्वास प्रस्तावमा सहीछाप धस्काउने पुष्पा घर्तीको कदमबाट प्रमाणित भएको छ ।

मुख्यमन्त्रीका आकांक्षी यामलाल कँडेलको नेतृत्वमा संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये पूर्वमाओवादीका ३ सांसदमध्ये एक थिइन्, उपसभामुख घर्ती । ठम्मर बिष्ट र धर्मराज रेग्मीसँगै माधव नेपाल पक्षका पूर्व एमाले सांसदले पदको आश्वासन पाएपछि अविश्वास प्रस्तावबाट ब्याक हुँदा यसको सोझो असर भने घर्तीको निर्णय क्षमतामा बढी परेको हो ।

मुख्यमन्त्रीसँग असन्तुष्टि के थियो ? 

नेकपा सुर्खेतका अध्यक्ष हुन्, नरबहादुर बिष्ट । पहिलो संविधानसभाका सभाषद रहेका बिष्टको सुर्खेती राजनीतिमा आफ्नै प्रभाव छ । सोही प्रभावकै कारण उनले पत्नी घर्तीलाई कर्णाली प्रदेशसभाको उपसभामुख पद दिलाउन सफल भएका हुन् ।

सुर्खेतमा राजनीति गरेर सिंगो कर्णाली प्रदेशको नेतृत्व गर्ने सोच र शैली कर्णालीमा छ । भौगोलिक रुपमा पनि पहाडी जिल्लाभन्दा तराईसँग जोडिएका भित्रि मधेसमा पर्ने सुर्खेतजस्ता जिल्लाका राजनीतिक नेताहरु विकास र दुष्टिकोणमा अगाडी देखिन्छन् । यो विगतकै परम्परा हो ।

तर कर्णाली प्रदेश सरकार गठन भएको अढाई बर्षमा पनि सुर्खेत लगायतका जिल्लामा प्रदेश सरकारको ठूलो प्रभाव छैन् । प्रभावशाली मन्त्रीहरु जुम्ला, हुम्ला र कालिकोटका हुनाले पनि सुर्खेती राजनीतिमा प्रदेश सरकार निकम्मा बनेको आरोप छ ।

मुख्यमन्त्री शाही कालिकोटका हुन् भने गृहमन्त्रीकौ हैसियतमा रहने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जुम्लाका हुन् । यस्तै सामाजिक विकासमन्त्री दलबहादुर रावल भने हुम्लाका हुन् । यी तिनै जना मुख्यमन्त्री र मन्त्रीलाई कालिकोट, जुम्ला र हुम्लामा केही सानो घटना हुनेवित्तिकै हेलिकोप्टर चार्टर गर्न हतार हुन्छ । 

तर कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतका नेताहरुसँग छलफल, कुराकानी, विकास योजना र त्यसको सफल कार्यान्वयन गर्न कहिल्यै फूर्सद हुदैन् । कतिसम्म भने केन्द्रका नेताहरु जनार्दन शर्मा र शक्ति बस्नेतको चाकडीमै रमाएर प्रदेश सरकार चलाईरहेका मुख्यमन्त्री शाही र गृहमन्त्री भण्डारी सुर्खेती नेताहरुप्रति निकै नै असहिष्णु बनिरहेको आरोप थियो ।

नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डको सहमतिका कारण पूर्वमाओवादीको सरकार बनेको भएपनि नेकपाले भन्दा कांग्रेसले सरकार चलाएको जस्तो महसुस सुर्खेती नेताहरु गर्न थालेका थिए । छलफल, बहस, योजना र सहकार्यभन्दा आफ्नो गुट र पदीय अंहकार देखाएर पन्छिने शैलीकै कारण बाध्य भएर कर्णालीमा अश्विासको प्रस्ताव दर्ता भएको थियो ।

तर निकै कमजोर बुझाई र पदीय लोभमा रमाउने नेताहरुका कारण अविश्वासको प्रस्ताव तुहियो भने नेताहरुलाई विश्वासघात गरेको आरोप लाग्यो । जसकारण बाध्यताले र आवश्यक ठानेर अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने हिम्मत जुटाएका नेता तथा सांसदहरु पनि अन्ततः निरीह साबित हुनुपर्यो । 

कांग्रेसको डर एकातिर, मुख्यमन्त्रीको रहर अर्कैतिर 

कर्णाली प्रदेश सरकार मात्रै होइन, संघीय सरकार पनि अहिले आफ्नो उत्तरदायित्व र प्रतिबद्धताबाट धेरै चुकिसकेको छ । सरकारमा बसेर काम भन्दा भाषण मात्रै धेरै गर्ने र जनजिविकाका मुद्दामा कहिल्यै गम्भिर नभएको आरोप खेपिरहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अर्कोपटक यही बहमुत पाउनेमा ढुक्क छैन् ।

यतिसम्मकी नेता तथा मन्त्रीको काम गर्ने शैली र भ्रष्टाचार मोहले आउँदो चुनावमा अहिलेकै कांग्रेसको हालत हुने डरपनि भित्रभित्र नेताहरुमा छ । गाउँ गाउँमा सरकार र संगठन भएपनि केन्द्रदेखि प्रदेश सरकारले राम्रो काम नगर्दा जताततै निराशा मात्रै छ । 

यस्तो बेलामा आफ्नो क्षेत्रमा प्रभाव कायम राख्नु नेताहरुको दायित्व हो । यसका लागि बरु सरकार नै किन नफेर्ने भन्ने कर्णालीमा रहेका नेकपा नेताहरुको निष्कर्ष हो । कांग्रेसले निरन्तर सरकारका गलत काम र कामै नभएको विषयलाई हतियार बनाएर आफ्नो प्रभाव जमाएका बेला नेकपालाई पुरानो विश्वास फर्काउन जटिल भइसकेको छ ।

यस्तो बेलामा कर्णाली भनेकै हुम्ला, जुम्ला र कालिकोट हो भन्ने बुझाई परेका नेताहरुको दिमागलाई समेत गहिरो छाप छाड्ने गरी काम गर्नुपर्ने बाध्यतामा नेताहरु थिए, छन् । तर सोचेको जस्तो अवस्था छैन् । केन्द्रदेखि गाउँसम्म कार्यकर्ताहरु कांग्रेसप्रति झुकाव राखिरहेका बेला पूरानो विश्वास फर्काउन हम्मे हम्मे परेको छ ।

तर कर्णालीका मुख्यमन्त्री शाही भने राजनीति गर्ने भनेकै कालिकोटको आफ्नो निर्वाचन क्षेत्रमा मात्रै हो भन्ने मानसिकताबाट ग्रसित छन् । आफूले जिते पुग्छ भन्ने मानसिकताबाट उनी परिचालित हुँदा सिंगो कर्णाली उनीबाट पर पर भाग्दै गएको हो ।

यही कारण पनि केही पूर्वमाओवादी नेताहरु आफ्नै पार्टीको भएपनि शाहीलाई मुख्यमन्त्रीबाट हटाउने निष्कर्षमा पुगेका हुन् । नेकपा सुर्खेतकै अध्यक्ष बिष्टले यसको नेतृत्व समेत गरे । नर बिष्ट र ठम्मर बिष्टको यो निष्कर्षमा पुष्पा घर्ती र धर्मराज रेग्मीले सहमत बनेर कँडेलले तयार पारेको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।

तर उनीहरुले सोचजसरी अरु सांसदले कुरा बुझेनन् र मन्त्रीको लोभ देखाउनेवित्तिकै अविश्वास प्रस्तावबाट ब्याक भए । जसकारण उपसभामुख घर्ती र नेकपा सुर्खेतका ईन्चार्ज बिष्टको प्रयास असफल भयो । अर्थात उनीहरुको असन्तुष्टि शब्दमै सिमित भयो । उल्टै पूर्वमाओवादीभित्र विश्वासघाती अर्थात तत्कालिन माओवादीकै शब्दमा 'गद्दार' नेताका रुपमा चित्रित हुनुपर्ने बाध्यता उनीहरुलाई आईलागेको छ । 

 


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७, ०९:५५:००
प्रतिक्रिया दिनुहोस्