बिचार

कोरोनाको बेला, चुनावी भेला !

घाटगाउँ डटकम

समाचार टिप्पणी 

घाटगाउँ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले युरोप, अमेरिका, दक्षिण एसिया हुदैँ नेपाल पनि आक्रान्त बनेको छ । दैनिक सयौ संख्यामा नयाँ संक्रमित फेला परिरहेका बेला पछिल्लो तीन महिनामा झण्डै दुई सय नेपालीको कोरोनाले मृत्यु भइसकेको छ ।

यस्तो विषम र संवेदनशिल बेलामा भने गाउँमा राजनीतिक दलका नेताहरु चुनावी भेलाकै झल्को दिने गरी टोल कमिटी गठन गर्न थालेका छन् । केही दिनअघि विपक्षी कांग्रेसले केही टोलमा भेला गठन गरेपछि आक्रामक भएको सत्तारुढ नेकपाले पनि टोल कमिटि गठन गर्न थालेको छ ।

१० बर्षे सशस्त्र द्धन्द्धको विशेष किल्ला मानिने घाटगाउँमा सत्तारुढ नेकपाको चौकुने गाउँ कमिटीले चुनाव केन्द्रित भेलालाई तिब्रता दिएको छ । शुक्रबार गाउँ कमिटिका अध्यक्ष गंगाराम विश्वकर्मा र चौकुने ९ का वडाध्यक्ष नवराज आचार्य आफै साविकको घाटगाउँ ५ नम्बरमा टोल कमिटि गठनमा अग्रसर भए ।

विश्वव्यापी महामारीले नेपालमै दुई सय जनाको ज्यान लिइसकेका बेला दलका नेता र जनप्रतिनिधि भने आफ्नो पार्टीको राजनीतिक भेलामा केन्द्रित हुन थालेका छन् । कोरोनाको बेला स्वास्थ्य सुरक्षा र मापदण्डको बेवास्ता गर्दै नेताहरु राजनीतिक झुण्ड र चुनाव केन्दित कमिटी गठनमा झुम्मिन थालेपछि आलोचना हुन थालेको छ ।

शुक्रबार साविक घाटगाँउ ५ मा युवा, महिला, बुढापाकासहितका स्थानीय राखेर नेकपाले टोल कमीटि गठन गरेको प्रमाण सामाजिक सञ्जालमार्फत बाहिरियो । जहाँ कम्तीमा मास्क समेत नलगाई, सामाजिक दुरीको बेवास्ता गर्दै नेता र जनप्रतिनिधिले झुम्मिएर लालसलाम पोज दिएका छन् ।

यसले कोरोना महामारीलाई गिज्याएको छ । यसअघि कोरोना रोकथामका लागि घाटगाउँमा पूल र डुंगाको आवतजावत समेत बन्द गरेका बेला अहिले नेताहरु भयावह बन्न थालेको कोरोनाको बेलामा चरम लापरबाही गर्न थालेका छन् । जसले भोलि ठूलो जोखिम ल्याउने खतरा छ ।

बधाईमाथि आलोचना 

शुक्रबार नेकपाले टोल कमिटी गठन गर्दा धेरै नेता कार्यकर्ताले बधाई दिए । खासगरी सत्तारुढ नेकपामा आस्था राख्ने र सक्रिय कार्यकर्ता रहेकाहरुले सामाजिक सञ्जालमा ब्यापक रुपमै बधाई दिए । तर कांग्रेस निकट युवा र कार्यकर्ताले भने चर्को आलोचना गरे ।

यसअघि कांग्रेसले पनि कोरोना कहरमा न्युनतम मास्क नै नलगाई भेला गरेको नेकपा नेताहरुको दाबी छ । कांग्रेसले त्यसरी टोलमा आप्m्नो सदस्यता वितरण गर्दा पनि मास्क र सामाजिक दुरीको बेवास्ता गरेको फोटो सामाजिक सञ्जालमा छन् ।

अहिले नेकपाले पनि त्यसैगरी आफ्नो नेता कार्यकर्ताको भेला तथा सदस्यता वितरण गर्दा कोरोना मापदण्डको पालना गरेको छैन् । यसले नेताहरु जनताको स्वास्थ्य सुरक्षाभन्दा पनि आफ्नो पार्टी र स्वार्थका लागि सबै कुराको बेवास्ता गर्न तम्तयार देखिन्छन् ।

कोरोना कहर र कोलाहल 

पछिल्लो समय कोरोनालाई हल्का रुपमा लिन थालिएपनि यसको अवस्था भने भयावह बन्न थालेको छ । राजधानी काठमाडौंमा दैनिक सयौको संख्यामा नयाँ संक्रमित थपिएका बेला सुर्खेत र सुर्खेतका विभिन्न गाउँमा पनि सक्तमित सख्या बढ्दो छ ।

यद्यपी पहिलेको जस्तो हल्ला र कोलाहल भने अहिले छैन् । पहिलो कोरोना देखिएको क्षेत्रमा शिल गर्नेदेखि लिएर सबै सुरक्षा अपनाइन्थ्यो । तर अहिले कोरोना संक्रमित देखिदा त्यसलाई सामान्य मानेर बेवास्ता गर्ने प्रवृत्ति बढ्दो छ ।

विज्ञहरुका अनुसार चैत, बैशाख र जेठ महिनाजस्तो कोरोना भाइरस अहिले छैन् । जेठ २५ गते नेपालमा पहिलो संक्रमितको ज्यान गएको थियो । त्यतिबेला धेरै संक्रमित उपचारपछि घर फर्किएका थिए । तर अहिले दैनिक दर्जन बढीको कोरोनाकै कारण मृत्यु भइरहेको छ ।

युवादेखि बृद्धबृद्धासम्मको मृत्यु भइरहदा यसको लापरबाही पनि बढ्दो छ । बर्षायाममा कोरोना भाइरस कडा र घातक बनेर फैलिरहेका बेला गाउँघरमा सामान्य ठानेर बेपर्वाह राजनीतिक लापरबाहीले भोलिका दिनमा झन् जोखिम बढ्ने चुनौति थपिएको छ । 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, ०७:१३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, भदौ १३, २०७७, ०७:१३:००
खुल्न थाले शक्तिपीठ शनिबार, भदौ १३, २०७७, ०७:१३:००