समाज

चिसोमा न्यानो बाड्दै विराटनगरका युवा

लोकेन्द्र विश्वकर्मा

११ पुस, मोरङ । विराटनगरका युवाहरु आर्थिक अभावमा परेका विपन्नहरुलाई न्यानो बाँडेर उनीहरुको आधारभूत आवश्यकता पूरा गर्न थालेका छन् ।

कोरोना महामारीले गर्दा उत्पन्न भएको लकडाउनको कठिन अवस्थामा आफ्नो दिनचर्या चलाउन समस्यामा परेकाहरुलाई विराटनगरका युवाहरुले न्यानो कपडा वितरण गरेर उनीहरुको आवश्यकता पूरा गर्न थालेका हुन् ।

    विराटनगरका युवा नेता तथा समाजसेवी ओसिम आलमको नेतृत्वमा २२ जना युवा दैनिक चिसोको मारमा परेका विपन्नलाई न्यानो कपडा वितरण गरिरहेका छन् ।

विराटनगर महानगरपालिका – ११ का विपन्न परिवारका सयौँ बालबालिकाहरुलाई न्यानो कपडा  वितरण गरेका हुन् । न्यानो कपडा अन्तर्गत ज्याकेट, जुत्ता, टोपी, कम्बल लगायत वितरण गरिएको अभियानका संयोजक आलमले बताए  ।

यसअघि उनीहरुले लकडाउनको बेला विराटनगरमा रहेका विपन्नलाई १ सय २० दिनसम्म निःशुल्क खाना खुवाएका थिए । निकै कठिन अवस्थामा राजनीतिक दल र सम्बन्धित निकायबाट कुनै सहयोग नभएपनि आलम लगायतका युवाहरुले भने विपन्नको दुःख र पीडामा सहयोगी भुमिका निर्वाह गरिरहेका छन् । जसको अहिले विराटनगर मात्रै होइन, देशका अरु जिल्लामा पनि चर्चा र प्रशंसा भइरहेको छ ।।


प्रकाशित मिति: शनिबार, पुस ११, २०७७, २३:०५:००
प्रतिक्रिया दिनुहोस्