विद्युत

आर्थिक

कहिले बन्छ सवस्टेशन ?

घाटगाउँ डटकम

जाजरकोट । सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ ।

सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या देखिँदै आएको छ । 

सवस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा भएपनि स्टेशन निर्माणको लागि बोलपत्र आह्वान नहुँदा समस्या उत्पन्न भइरहेको छ । सवस्टेशनको डिजाइन गर्ने इटालियन कन्सलटेण्टले डिजाइनको काम पूरा गरिसकेको भएपनि बोलपत्र आह्वानको काममा ढिलाइ भएको छ ।

यो सवस्टेशन निर्माण कार्य पूरा भएपछि अर्को जहरेमा निर्माण हुन लागेको ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि मात्र चार जिल्लाको विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिए । 

अहिले सुर्खेतको सुव्वाकुना र जहरेमा ठूला सवस्टेशन निर्माण नभएकाले जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ । 

त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । कोभिड कम हुने वित्तिकै डिपीआरका लागि दशँैसम्म कन्सलटेण्ट आउने बताइएको छ । 
 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, १०:३६:००
प्रतिक्रिया दिनुहोस्