समाज

विप्लव नेतृत्वको बिद्यार्थी संगठनले मनायो “सहिद सप्ताह”

लोकेन्द्र विश्वकर्मा

खलंगा । प्रतिबन्धित नेत्रबिक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  ( नेकपा ) भातृ बिद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटले बिद्यालयमा हाजिरीजवाफ कार्यक्रम गरेर यो बर्षको सहिद सप्ताह मनाएको छ ।

              जिल्लाको कुशे गाउँपालिका – ५ मा रहेको थर्पु माध्यामिक बिद्यालयमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरेर मनाएको अखिल क्रान्तिकारी बिद्यार्थी संगठन जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी गराए । 

कार्यक्रममा, विप्लव नेतृत्वको युवा संगठन जाजरकोटका अध्यक्ष गोविन्द चन्द, अखिल क्रान्तिकारी बिद्यार्थी संगठन निर्वतमान अध्यक्ष धनजित महर लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा उक्त कार्यक्रम गरिएको थियो ।  

हरेक बर्ष माघ १६ गते सहिदको सम्झनामा देशभर बिभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाउने गरिन्छ । सप्ताहमा महान सहिदहरुलाई सम्झदैँ विप्लव नेतृत्वका बिद्यार्थी, युवा लगायत नेता तथा कार्यकर्ताहरुले सहिदलाई श्रदा–सुमन व्यक्त गरेका थिए ।

नेपालको पहिलो सहिद लखन थापाको वि.सं. १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिदिएका थिए । तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाका विरुद्ध प्रचार गरेको आरोपमा सहिद थापालाई हत्या गरिएको थियो । 

नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर हत्या गरिएको थियो । 

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

जनताको अधिकारको लागि ज्यानको बलिदान दिन पुगेका महान सहिदको सम्झनामा गरेको कार्यक्रममा बोल्दैँ निर्वतमान अध्यक्ष धनजित महरले फेरी जनताको अधिकारको एकीकृत जनक्रान्तिमा लामवद्ध हुन आग्रह गरेका थिए । 


प्रकाशित मिति: शनिबार, माघ १७, २०७७, १३:४३:००
प्रतिक्रिया दिनुहोस्