पर्यटन

कर्णालीका कर्मचारीहरु १२ दिन घुम्न पाउने

घाटगाउँ डटकम

कर्णाली : कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवर्धन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मङ्गलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८र७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेका थिए ।

प्रदेश सरकारले ‘यसपालि घुमौँ कर्णाली’ भन्ने नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै कर्णालीलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश पर्यटन गुरुयोजनाअनुसार एक जिल्ला एक पर्यटकीय क्षेत्र र आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारहरूको विकास तथा प्रवर्धनलाई प्राथमिकता दिइने व्यवस्था गरेको छ । पर्यटन विकास तथा प्रवद्र्वनका सबै आयोजना कार्यान्वयनका लागि रु २३ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय सम्भाव्य स्थलहरूको पहिचान, संरक्षण, जीर्णोद्वार तथा पुनर्निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

मन्त्री शर्माले जनयुद्धकालीन ऐतिहासिक युद्धस्थलहरू कालीकोटको पिली, रुकुम पश्चिमको खारा र जाजरकोटको जुनीमा युद्ध सङ्ग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यता अध्ययन गरी युद्ध पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।

त्यस्तै, सरकारले पर्यटक पूर्वाधार विकाससम्बन्धी विगतका अधुरा कार्यक्रमलाई यसपाला पनि निरन्तरता दिएको छ । यहाँका प्रमुख गन्तव्य रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, बुलबुले, पचालझरना, कुभिण्डे ताल, स्यार्पु ताल, पञ्चकोशी, सिञ्जा, लिमी, कुशेपाटन, चित्रेपाटन लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास कार्यक्रमले निरन्तरता पाएका छन् । निजी क्षेत्रसँगको सहकार्यमा ठूला नदीहरू कर्णाली र भेरी नदीमा र्‍याफ्टिङ, रारा, कुभिण्डे र स्यार्पुतालमा आधुनिक डुङ्गा साहसिक पर्यापर्यटनको विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ ।


प्रकाशित मिति: बुधबार, असार २, २०७८, १५:०७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो बुधबार, असार २, २०७८, १५:०७:००
खुल्न थाले शक्तिपीठ बुधबार, असार २, २०७८, १५:०७:००