विविध

प्रोफाइल

बिचार

मौलिक गीतका प्रख्यात गायक

घाटगाउँ डटकम

काठमाडौं । पचासको दशकमा जब उनले बाग्लुङ धम्जाको पहाडी गाउँमा पाइला टेके, ठ्याक्कै उत्तरपट्टी चाँदीको पर्दा झैं ठिङ्ग उभिएको विश्व चर्चित धौलागिरी हिमालको साक्षात दर्शन पाए । भारतको नयाँ दिल्लीमा जन्म लिएका अहिलेको समयका सर्वाधिक चर्चित लोकगायक प्रकाश सपूत, जीवनको बालापनका ४ वसन्त आफ्न आमा बुवाको साथमा भारतमै बिताएर आफ्नो परिवेशमा आए ।

कालिगण्डकीको हिमोट पार गरेर जो मानिस बाग्लुङ बजार पुग्छ उसले सबैभन्दा पहिला भेट गर्ने बाघको सालिकसँगै हो । अहिलेको जस्तो प्रकाशको घरसम्मै पुग्ने मोटरबाटो त्यतिबेलाको समयमा मानिसको कल्पनामै थिएन ।

अक्षेतेबाट धम्जा गाउँ पुग्दा सम्मको उकालोमा प्रकाशले आफ्ना बाजे बज्यै भेट्ने वाञ्छा (तिव्र चाहना) ले खुट्टा दुखुञ्जेल आफ्नै शरीरले हिँडे । शरीर थाकेर लखतरान भएपछी कहिले आमाको काख त बाउको काँधमा झुण्डिदै घर पुगे । घरमा छोरा बुहारी आएको भन्दा नाती पाएको प्रसन्नताले प्रकाशका बाजे बज्यै हर्षविभोर भए ।

आखिर प्रकाश उनका बाजेको तेस्रो पुस्ताको पहिलो प्रतिनिधि न थिए । भनिन्छ नि ! मानिसलाई साँवाको भन्दा ब्याजको माया । आमा मिना विक र बुवा बलबहादुर विक रोजगारीको क्रममा भारत रहँदा पहिलो सन्तानको रुपमा प्रकाशलाई जन्माएर गाउँ फर्किएका थिए ।

अब धम्जाको गाउँमा प्रकाशको बाल्यकाल बित्न थाल्यो । धौलागिरीले हरेक दिन पस्कने शितबिन्दूसँग लुकामारी खेल्दै लक्ष्मी मावि धम्जामा उनको औपचारिक शिक्षा आरम्भ भयो । प्रकाश विद्यार्थी जीवनमा कक्षाहरु उक्लिँदै जाँदा घरायसी काममा खासै ध्यान नदिने तर विद्यालयमा गरिने हरेक कृयाकलापमा बडो जाँगरकासाथ फूर्ती लगाएर सहभागीता देखाउने केटाको रुपमा देखा परे ।

खेलकूद र साहित्यप्रति रुची राखेर त्यही अनुसार वान्की देखाउने एक सिर्जनशील विद्यार्थी उनी हाल आएर संसारभरिका नेपाली भाषीकालागि लोक दोहोरी गायक भनेर कहलिए ।

लोक संगीतमा लाग्ने प्रण गरेको दिन

आफ्ना बाजेले गाउँभरिका मानिसहरु जम्मा गरेर भजन किर्तन गर्ने गरेको दृश्यलाई एकदम समीपबाट स्पर्श गरेका उनी आमा–बुवाले नाच्ने मारुनी र सोरठीबाट झन प्रभावित बने । विद्यार्थी जीवन सकिनै लाग्दा उनी एकदिन छिमेकी गाउँ तंग्राम पुगे जहाँ प्रतियोगितात्मक लोकदोहोरी आयोजना गरिएको थियो ।

सो समयको सर्वाधिक लोकप्रिय गीत ‘फूलमा भमरा, आउँदै गर निरमाया माया नमार’को लयमा दिनभर दोहोरी सुनेर फर्किएका प्रकाश बाटोभरी फूलमा भमरा गीत गाउदै साँझमा घर आइपुगे । झुक्किएर तंग्राम पुगेको त्यो दिन नै उनको जीवनको यस्तो खास दिन बन्यो जुन दिनदेखि उनले लोकदोहोरी क्षेत्रमा लाग्ने प्रण गरे । खासमा एसएलसीपछी शुरु हुन्छ उनको वास्तविक जीवन संघर्ष ।

परिवार पाल्ने आर्थिक जोहो गर्न वर्षौं भारत बिताएका उनका बुवाले उनिसहित ४ जना छोराहरुको शिक्षा दिक्षा र लालनपालनको लागि ५ वर्ष मलेसिया र ६ वर्ष साउदी अरबमा बिताउँदा भाईहरुको साथ र आमाको काखमा बसेर दुःखजिलो गर्दै बढे, पढे ।

गाउँले परीवेशको संघर्ष त्यसमाथी पनि दुर्गमा गाउँ झन त्यसैमा तथाकथित दलित गरिब परिवारको संघर्ष उनी आफैले झेल्दै र भोग्दै आए । परदेशियका बुवा दशैं र तिहार लगायतका चाडबाडहरुमा घर नआउँदा निरस चाडपर्व उनले धेरै भोगे ।

एकचोटी उनका भाई र उनी बुवा छुट्टीमा आएर फेरि विदेश जाँदा छोड्न बाग्लुङ बजारसम्म गए । बुवालाई पठाएर आउँदा बाटोमा कसैको रेडियोमा रिमा गुरुङको ‘सून फल्छ नि साइलो दाई यै माटो चलाए, किन जान्छौ साइलो दाई हङ्कङ र मलाए’ बोलको गीत सुनेर उनीहरुको मन यति खिन्न भयो कि दिनभरिको बाटोमा दाजूभाई आपसमा नबोलेरै साँझ घर आइपुगे ।

उनका बुवा विदेशमै रहदा एकपल्ट चिट्ठीभित्रै हालेर ३ सय भारतीय रुपैयाँ पठाइदिएर चाडबाड मनाए, घर खर्च चलाए । अरबको खाडीतिर गएका एकजना कुनै घर आउँदा गाउँभरिका परदेशीको नासो र चिट्ठी बोकेर आउँथे । उतिबेलाको जमानामा आजको जस्तो बिप्रेशनबाट पैसा पठाउने र मोबाइल, इन्टरनेटको सुविधा कहाँ थियो र ?

करिअरको खोजिमा काठमाण्डौं

एउटा सामान्य परिवारको छोरो जो एउटा उम्मेर समूहमा आइपुगेर जिजिविषाको लागि यो  गरौं कि त्यो गरौं भन्दै भौंतारिने गर्छ । आफ्नो जीवनको अनन्त सम्भावनामा निस्कन्छ । प्रकाश सपूत पनि आमा बुवाको जेठो छोरो हुनुको नाताले आफ्नो जीवनको सम्भावना र परिवारको भरोषाको लागि करीअरको खोजिमा निस्कन्छन् ।

बाग्लुङ एफएम बाग्लुङको स्टुडियो भित्र कार्यक्रम प्रस्तोताको रुपमा २ वर्ष बिताएपछी अलि फराकिलो आकाश र चौडा धर्तीमा पाइला चाल्दै प्रकाश देशको राजधानी शहर काठमाडौं आइपुग्छन् । काठमाडौं आएर पनि यो गरौं कि त्यो गरौंको दोधारबिच एकजना अरबीसँग विदेश जाउँकी भनेर अन्तर्वाता समेत दिए । धन्न अरबीले उनलाई नलिइदिएको हुनाले नेपाल र नेपालीले प्रकाश जस्तो गायक पाए । मार्मिक मार्मिक गीत पाए । अजम्बरी संगीत पाए ।

काठमाडौंमा निक्कै दगल फसल गरेपछी प्रकाशलाई आडभरोसा दिन आइपुगे पृथ्वी थकाली र साथ निभाउन आए शान्ति सुनार र तेजु छन्त्याल । ठमेलको गामबेसी रोधीघरमा उनले लोकगीत गायनको पेसा शुरु गरे । तत्कालिन अवस्थामा गामबेसी रोधीघर उनको संघर्षको भारी बिसाउने चौतारी बनिदियो ।

नयाँ र भर्खरै पलाउँदै गरेका पालुवाहरुलाई काठमाडौंको यो मानव सागरमा त्यति सजिलो कहाँ छ र ? त्यसो त यो ठाउँमा सोझो मनले गरिखाने कसैलाई पनि सजिलो छैन । जीवनको सागरमा पौडिँदै गर्दा जीवनका मोडहरुका चट्टानहरुमा ठोक्किँदै अगाडी बढेका प्रकाश अब आफ्नै शब्द र संगीतमा गीत रेकर्ड गराउने तयारीमा लागे ।

बिहान स्टुडियो जाँदा मनभरी उमङ्ग र छातीभरी उत्साह बोकेर गएका उनी बेलुका डेरामा फर्कंदा गीत रेकर्ड गराएर त आए तर दिनभरी स्टुडियोमा लाइन बस्दा बस्दा लखतरान अनि निरास । न गीतले चर्चा पायो, न त स्वयम प्रकाशले नै । नेपाली लोकगीत र संगीतलाई आफ्नो सेवा सहितको कर्म ठान्ने उनको पहिलो गीतको साइँसुइँ केही नहुँदा पनि हरेस भने खाएनन् ।

मानिसहरुको माझमा चिनिने अनि गीतबाटै आफ्नो जीवनको पांग्रालाई अगाडी बढाउने बिचारमा दृढ रहेका उनले ‘मुसुमुसु नहाँस मायाले’ बोलको दोस्रो गीत रेकर्ड गराए । अहँ आएन गीत चर्चामा, दोस्रो गीतको हविगत पनि पहिलोको जस्तै भयो । आफ्नै गाउँघर अनि साथी सेरोफोरोमा ‘ए ! यस्लेपनि गीत रेकर्ड गराएछ’ भन्ने जानकारी बाहेक अरु खासै चर्चा ‘मुसुमुसु नहाँस मायाले’ले पाउन सकेन ।

रेकर्ड तोड्ने गीत

भनिन्छ, कालिगण्डकीमा सयौं किमि पल्टाई र रगडाई खाएर मात्रै एउटा ढुङ्गा शालिग्राम बन्छ । जब्बर चट्टानलाई फोरेर उम्रने मात्रै पिपल हुनसक्छ । दुइटा असफलताका चट्टानबाट कसरी पिपल बनेर पलाउने ? यत्रो ओल्टाई पल्टाई खाएरपनि किन अरु सामान्य ढुङ्गाजस्तै रहियो, शालिग्राम हुन किन सकिएन ? बृहदरुपमा घोत्लिए प्रकाश !

लामो सोंचाइपछी उनले आफूजस्तै आधुनिक युवाहरुलाई सम्झिए र जोखिम लिन तयार भए त्यसपछी आयो दोहोरी ब्याटल । दोहोरी ब्याटलको अडियो भिडियो सार्वजनिक हुन साथ उनले एउटा ब्याटल जिते । ब्याटलले चिनायो प्रकाश सपूतलाई । अब बल्ल प्रकाश मानिसको आँखामा पर्न थाले । लामो यात्राका गाडीहरुमा यात्रा गर्नेहरुले बार र रेष्टुरेण्टहरुमा जानेहरुले प्रकाशको ब्याटल हेर्न थाले । टेलिभिजनका पर्दाहरुमा कालो ज्याकेट लाएर प्रकाश उफ्रिएको देखे नेपाली जनताले ।

युवाहरुको मन त समाते अब सम्पूर्ण नेपालीको मन समात्ने विषयवस्तुको खोजिमा लागे प्रकाश । आफैले भोगेको गाँउले जीवनका आरोह अवरोह र वैदेशिक रोजगारद्धारा सिर्जित विषयलाई सम्पूर्ण नेपालीको विषय सम्झिए । वैदेशिक रोजगारले चेलीबेटीको सिउँदो रित्तिएको, परदेशिले पठाएको कमाइले चुहिने छानो टालिएको, आधा मानो भरिएको तर त्यही टालिएको छानो र भरिएको मानो परदेशीले देख्न नपाएको ।

पैसा कमाउन आकाशमा उडेर गएको मानिस लास बनेर बाकसमा आएको, कमाउने र रमाउने सपना देख्दा–देख्दै विदेशमै दैवले प्राण चुँडेर लगिदिएको, पैसा बोकेर आउने इच्छा खरानी बनेर उडेको आदि इत्यादि कुरा आफ्नै आँखा अगाडी गाउँमै थिए । यस्तो कथा काठेखोला गाउँपालिका धम्जाको मात्रै कहाँ हो र ?

नेपालका निभिन्न ठाउमा छरिएर रहेका १० हजारबढी हरेक गाउँ अनि शहरका गल्ली गल्लीको कथा ब्यथा हो यो त ! जनताको यही दुःखलाई गीतमा उनेर नेपालीलाई दिन चाहे । आज ‘बोलमाया’  केवल प्रकाशको मात्रै होइन सिङो नेपाली गीत संगीतकै जगतमा कोसेढुङगा सावित भयो ।

गीत संगीतको इतिहासमा करोड भन्दा बढी पटक हेरियो ‘बोलमाया’ । अब प्रकाशलाई नामको कमि रहेन न त दामको नै । न त एकदुईवटा असफलतामा हार खाए न त एकाध सफलतामा नै मात्तिए । ‘बोलमाया’ले उनको एउटा अर्को पक्षलाई समेत उजागर गरिदियो त्यो हो उनको बाल्यकालदेखिको चाहना रहेछ चलचित्रको हिरो बन्ने ।

प्रकाशले लोकगीत भद्धा, अनुदारवादी र अश्लील समेत बन्दै गइरहेको समयमा मानिसहरुको मथिङ्गलमा लामो छाप छोडने गरेर दोहोरी ब्याटल मार्फत् आधुनिकता दिएभने ‘बोलमाया’बाट नेपाली जनताको समवेदना पस्किए ।

प्रकाश भन्छन् ‘लोकगीत नेपालको मौलिक गीत हो, प्राकृतिक गीत हो । अरु गीत मिडियाहुँदै श्रोतासम्म पुग्छन् लोकगीत सिर्जना पछी श्रोताहुँदै मिडियामा पुग्छ ।’ मिडिया नहुँदा पनि लोकगीत एकठाउँबाट अर्को ठाउँमा पुग्थ्यो ।  ‘बोलमाया’ले उनलाई दवाव पनि महशुस भयो । यो भन्दा राम्रो गीत अब कसरी दिने भनेर । गीतको खोजी गर्दै फेरि उनी आफ्नै गाउँ धम्जा पुगे ।

‘बोलमाया’ जहाँ सकिन्छ त्यहीँबाट शुरु भयो ‘गलबन्दी’ । ‘गलबन्दी च्यातियो तिमीले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर...’ आयो गीत, आयो, कडा आयो ! गलबन्दीले यति सफलता पायो, प्रकाश गीत संगीतको मात्रै होइन नेपाली समाजकै हिरो भए । ‘गलबन्दी’को अगाडी नेपालका अरु मै हुँ भन्नेहरु फुच्छे देखिन थाले ।

विहेपाटी, भोज भतेर, रेडियो टिभि, देश–विदेश, गाँउ शहर, खोला, पाखा, कन्दरा, पहरा कहाँ बजेन गलबन्दी ? यो गीत लोक तथा दोहोरी गीतको प्रर्यायवाची बन्यो । कहिल्यै लोकदोहोरी नसुन्नेले समेत ‘गलबन्दी’ सुन्यो । दोहोरी नसुन्नेहरुलाई सुन्ने बनाउने श्रेय यही ‘गलबन्दी’लाई जान्छ, निःसन्देह यो श्रेय गयो प्रकाश सपूतलाई ।

‘गलबन्दी’ले नेपाली विहे पाटीहरुमा बज्ने हिन्दी गीतहरुलाई समेत विस्थापित गरेर नेपाली संस्कृतिको विकासमा टेवा पुर्यायो, राष्ट्रियता बलियो बनाउन सहयोग गर्योे । गीतको लोकप्रियता कतिभने सामाजिक सञ्जाल युट्युवमा यो गीत ३ करोड ३३ लाख पटक हेरिएको छ । जबकी हालै मात्र नेपालको जनसख्या ३ करोड पुगेको छ । ‘गलबन्दी’को अपार सफलतासँगै प्रकाशलाई यो गीतको लय नक्कल गरेको आरोप आइलाग्यो । जव वरिष्ठ गायक तथा संगीतकार शम्भु राईले ‘गलबन्दी’ गीतको लय मिल्न गएको दावी गरिदिए ।

अन्तिममा,

लोकगीत कर्मबाटै राजधानीमा घर घडेरी जोडिसकेका प्रकाश श्रीमती बिन्दु र छोरी प्रबिष्टी सहित काठमाण्डौमा बस्छन् । सम्बन्ध होस या सिर्जना सिक्दै र सच्चिँदै अगाडी बढ्नु पर्छ भन्ने मान्यता राख्ने उनी गायक मात्रै नभएर नेपाली गीत–संगीतका एक समग्र श्रष्टा हुन्, जहाँ उनी गीतको सिर्जना आँफै गर्छन्, संगीत सिर्जना आफै गर्छन् र अभिनय पनि आफै गर्छन् ।

उनी आफूले बनाउने भिडियो निर्देशन पनि आफै गर्छन् ।  दर्जनौं गीतहरुमा आफ्ना विभिन्न कला दिइसकेका उनको मुखैमा चिनी पनि छ, मिठो बोल्छन् हाँसेर बोल्छन् । गण्डकी प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को लागि पर्यटन सदभावना दूत घोषणा गरेका उनी बन्दै गरेको ‘परदेशी–२’ नामक नेपाली कथानक चलचित्रमा हिरोका रुपमा देखिन लागेका छन् ।

कोरोना विषाणुको महामारी नआइदिएको भए चलचित्र प्रदर्शन हुने बेला भइसक्थ्यो कि ! कलाकारहरुको अगुवाइ गर्दै नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा २ लाख रुपैयाँ सहयोग गरेका उनले महामारीकै बिचमा ‘नमस्ते’ र २०७७ सालको तीजको सेरोफेरोमा ‘बदला बरीलै’ गीतका भिडियो सार्वजनिक गरेका छन् जुन गीतहरु पनि सफलताको उचाइमै हिँडीरहेका छन् । प्रकाश सपुतका आगामी पाइलाहरु थप सफलतामा दौडिउन हाम्रो पनि शुभकामना !

(भीम भारतीले तयार पारेको यो सामग्री हामीले गोल मिडिया खबर डटकमबाट लिएका हौ) 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, २०:२८:००
प्रतिक्रिया दिनुहोस्