ब्लग

हुलाकीले बाटोमै खोल्ने यो चिट्ठी !

घाटगाउँ डटकम

हे.कोरोना तिमीलाई नमस्कार...। यो नमस्कार अन्तिम हुनेछ...। 

म आराम भइ यो पत्र तिमिलाई लेखेको छु । यो पत्रमा हजारौं कुरा छुट्न सक्छन् । छुटेपछि अर्को चिट्ठीमा समेट्ने छु । तिम्रो त कुरा नगरौं । हजारौं पर्खाल तोडेर तिमी मसँग पुग्यौं ।  मलाई केही गर्छु भनेर । ती पर्खालहरु तोडेर पनि मलाई तिमीले केही गर्न सकेनौं । तिमी चितामा कहिले जान्छौं हँ ? । तिमीलाई दुनियाँले यति घृणा गर्छ, तिमीलाई यो संसारबाट सखाप पार्न चाहान्छ, । दुनियाले तिमीलाई नाकाबन्दी गर्‍यो । तिमीलाई सिध्याउनका लागी विभिन्न प्रकारका रणनितीहरु बनिरहेका छन् ।

र, पनि तिमी अझै लुकिछिपी कसैलाई हातको माध्यमबाट त कसैलाई सासको माध्यम् बाट विभिन्न किसिमले आक्रमण गरिरहेका छौं ।  अझै पनि तिमी चारै तीरबाट घेरा हालेर मानिसहरुलाई आक्रमण गर्ने प्रयास गरिरहेका छौं । हामी तिमीलाई नाकाबन्दीमा पार्नको लागी एननाइन्टी फाइभ, सर्जिकल लगायतका माक्सहरु प्रयोग गरिहरेका छौं । तिमी हातमा सरिहालेको अवस्थामा त्यहीं हताहत पार्न सेनिटाइजरको प्रयोग गरिरहेका छौँ ।

बाहिर निस्कदा चोक, बजार, कार्यालय, सिनेमाहल, होटेल, रेष्टुरेण्ट, विद्यालय जस्ता धेरै मानिसहरुको भीडभाडमा तिमीलाई झन सजिलो हुन्छ भनेर सरकारले निषेधाज्ञा जारी गरेको छ । तिम्रोविरद्धमा करोडौंको संख्यामा चीन, रुस, बेलायत, अमेरिका, भारत लगायतका देशहरुमा बिभिन्न प्रकारका शक्तिशाली भ्याक्सिन नामका एण्टिभाइरस सेनाहरु तयार भएर मानिसहरुको शरिरबाट चरणवद्ध रुपमा परिचालित भइरहेका छन ।

यति गर्दागर्दै पनि तिमी किन नडराएको हँ ? । अहिले त शहरका मानिसहरु बाहिर निस्किएनन् भनेर गाउँ तीर तिम्रा सन्तानहरु पठाएका रहेछौं किन ? । के तिमी साँच्चिकै मानिसहरुको जीवनमा यो भन्दापनि ठुलो प्रलयको कल्पना गरिरहेका छौं ? । एकपटक विचार गर त मानिसहरुको हालत !

दिनभरी काम गरेर खाने मानिसहरु भोक भोकै छन । कति लाऊँ लाऊँ खाँऊ खाऊँ भन्ने उमेरका बालबालिकाहरु छटपटि छटपटि मरिरहेका छन् । देश र समाजका लागी योगदान गरिरहेका आशा लाग्दा युवा होनहार ब्यक्तिहरु अकालमै ज्यान गुमाएका छन् । विदेशमा कमाउन गएको छोरो आउला र विहे गरिदिएर नाती नातिनी खेलाएर मरौला,भन्ने रहर बोकेका वृद्ध आमाबाबाहरु दम र खोकीका बिरामी थिए । जो छोरा आउने बाटो हेर्दा हेर्दै अस्पतालको बेडमा अक्सिजन नपाएर छटपटाइ छटपटाइ मरिरहेका छन् ।

अस्पतालमा बिरामीलाई बचाउनको लागी दिनरात खटिएका स्वास्थ्यकर्मी माथि पनि जाइ लाग्यौं तिमी । तर उनीहरुको पीपीइलाई समेत चुनौती दियौं र, मृत्युको मुखमा पुर्‍याएरै छाड्यौँ । त्यसो त कति मानिसहरु अक्सिजनको अभावमा छटपटि छटपटि मरे । कतिले त अस्पतालमा ठाउँ नपाएर यता र उता दौडदा दौडदै एम्बुलेन्समा नै बाँच्ने आशै आशमा आफन्तको अनुहारमा हेर्दा हेर्दै ज्यान गुमाए ।

आफन्तलाई बचाउनको लागी अस्पतालको चक्करमा भौतारिएका आफन्तहरुको मनमा अस्पताल भएर पनि ठाउँ नपाएर, अक्सिजन नपाएर आफ्नै अगाडी हेर्दा हेर्दै मृत्यु हँदा कस्तो भएको थियो होला ? । एकै घरमा तीन चार जनाले समेत ज्यान गुमाएका घर परिवारमा कस्तो अवस्था भएको होला ? । कतिले त धेरै बर्ष पछिको खरको छानो फेर्ने, आफ्नै खेतको भात खाने र बच्चालाई बोर्डिङ्ग स्कुलमा पढाउने र यस्तै यस्तै सपना बोकेर परदेश गएका परदेशीहरु जुन दिन घर देखी निस्किएका थिए । त्यही दिन उनीहरुको लागी अन्तिम दिन भयो । परिवारसँगको बिदाई अनि भेटघाट बिचरा अन्तिम संस्कार समेत आफ्नो जन्मथलोमा हुन पाएन त्यो सानो नाबालकले आफ्नै बाबुलाई दागबक्ति दिन पाएन ।

परिस्थिती यति कहाली लाग्दो भइसक्यो कि आफ्नै परिवारको सदस्य पनि बाहिरबाट आयो भने डराउनु पर्ने अवस्था छ । मानिसहरुलाई अव मानिस देखी डर लाग्न थाल्यो जिल्ला जिल्लामा नाकाबन्दी हुन थाल्यो । गाउँ गाउँमा नाकाबन्दी हुन थाल्यो । काँडेतार लाग्न थाल्यो । मै हुँ भन्ने मान्छे पनि तिम्रो नाम सुनेरै थर थर काँप्न थालेका छन ।

मेरी प्रेमिका पनि आजकाल मसँग डराउँछिन, पोहोर सालको लकडाउनको बेलामा पनि छ महिना सम्म टाढैं बस्नु पर्‍यो । यसपाली पनि नभेटेको दुई महिना भै सक्यो संसारमा बुबा आमापछि मलाई सबैभन्दा धेरै माया गर्ने मान्छे उनै थिइन् मेरो लागी, तर आजकाल उनी पनि डराउछिन । मेरो नजिक आउन, कहिले शंका नगर्ने उनले आजकाल शंका गर्न थालेकी छन् । किनकी तिमी कतै मेरो शरिरमा लुकेर बसिरहेका छौकी भन्ने डर छ उनलाई ।

किनभने करिब ३ हप्ता जति त तिमी जवरजस्त मेरो शरिरमा हमला गरेर बसेका थियौं । हेर त जसले यति धेरै प्रेम गर्छ कसरी यति लामो समय एक अर्काको सामिप्यता बिनाको समय गुज्रिरहेको होला । हर दिन अनि रात घर भित्र थन्किएर बस्नु पर्दाको पिडा कस्तो होला ? । यो हामी जस्ता लाखौंको पीडा हो ।

बिचरा दिनभरी ज्याला मजदुरी गरेर छाक टार्ने मजदुरको अवश्था कस्तो होला ? अनि ती सडक मान्छेहरुको अवस्था के होला ? । न सरकारले राहत दिन्छ, न त बाहिर निस्कन्छन् । कति महिलाहरु त परिवार संगै बस्दा झन हिंसाबाट पीडित भएका छन । बैङ्कबाट ऋण लिएर ब्यापार गरिरहेका साना ब्यापारीहरुको पीडा पनि कम्तिको छैन । पोहोर सालको ब्याज तिरेर सकिएको छैन । फेरी उही अवस्था सामना गर्नु पर्‍यो । महँगो ब्याजमा ऋण लिएर भविष्य बनाउँछु भन्ने सपना बोकेका मानिसहरु त झन ऋणको पीरले थला परिसकेका छन । साहुले १ रुपैयाँ पनि ब्याज घटाउदैनन् । कतिले त डिप्रेशनका कारण आत्महत्या सम्मगर्न पुगेका छन । उता बालबालिकाहरुको भविष्य चौपट भै सक्यो । उनीहरुलाई पढ्ने भन्दा पनि पब्जी, फ्रिफायर, कार्टुन, र अन्य गेममा बढी लागिरहेका छन ।

यती मात्र होइन खास कुरा त अझ बाँकी नै छ । यता राजनितीका खेलाडीहरुले यतिबेला मौकाको फाइदा उठाइरहेका छन् । यहीं मौकामा विश्वका तागतदार देशहरु आफू हिरो बन्ने कसरतमा लागि परेका छन । हाम्रो सरकार पनि निक्कै रणनैतिक ढंगले आफ्नो कुर्सी बलियो बनाउनका लागी विभिन्न प्रयासहरु गरिरहेको थियो । अस्पतालमा विरामीहरु डाक्टरको अनुहार तीर हेरेर बाँच्नको लागी आशा गरिरहेका थिए ।

डाक्टरहरु अक्सिजनको आशामा सरकारको मुख ताक्दै थिए । बेड खाली थिएन अस्पतालको चौरमा राखेर उपचार गर्नुपरेको थियो । र, पनि स्वास्थ्यकर्मीहरु बिरामी बचाउनको लागी हर प्रयास गरिरहेका थिए । तर पनि उनीहरु सुरक्षित भएनन् सिमित श्रोत साधनका बाबजुत पनि तिमीसँग लडिरहेका बिरामी लाई बचाउन लडिराखेका स्वास्थ्यकर्मीहरुलाई बिना कसुर सरकारका नजिकका मानिसहरु भनिनेहरु साँघातिक आक्रमणसम्म गर्न पछि परेनन् ।

विपक्षीहरु सरकार ढाल्नका लागी विभिन्न खालका टुनामुनाहरु बुनिरहेका छन् । कसैलाई फुटाउने र कसैलाई जुटाउने खेल भइरहेको छ । यति सम्मकी सरकारको कदमकाविरुद्ध भनेर निषेधाज्ञाको बेलामा पनि सर्वोच्चको प्राङ्गणमा बिना दुरी बिना स्वास्थ्य मापदण्ड एकै ठाउँमा झुम्मिएर पुर्वप्रधानमन्त्रीदेखि नेता कार्यकर्ता समेत फोटा खिचाउने बालुवाटारसम्म पुर्‍याउन भ्याए । सर्वसाधारणहरू भने ठाउँ ठाउँमा कारबाहीको भोगिरहेका छन ।

दलालहरु रातारात मालमाल हुँदै गएका छन् । चामल, नुन, तेल, तरकारी लगायतका खाद्य बस्तुमा महँगी बढी रहेको छ । कोही स्वास्थ्य सामग्रीमा घोटालाका गरिरहेका छन । राजनीतिबाला क्याप्टेनहरु रातारात चौका र छक्का दाउँ हान्ने होडबाजीमा छन् । देश र जनताको आर्थिक अवस्था निकै भयावह भन्दै गएको छ । राजनीतिको नाममा विभिन्न गुट, फुट र लुटको व्यवस्था चलाइरहेका छन ।

कोरोना तिम्रो नाम निशान मेटाउनका लागी अनुदानमा भ्याक्सिन ल्याउन विदेशीलाई चिट्ठी काट्नुपर्ने अवस्था आयो । अक्सिजन, माक्स, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री विदेश बाट नेपाली नागरिकहरुले, गैरआवासीय नेपाली नेपालीहरुले पठाएका छन । विभिन्न मित्रराष्ट्रहरुले समेत स्वास्थ्य सामग्रीहरु पठाएका छन् । विभिन्न समाजसेवीहरुले सहयोग उपलब्ध गराएका छन् ।

बर्षाको भेलमा समेत ज्यानको प्रवाह नगरी स्वास्थ्यकर्मीहरुले भ्याक्सिन लगायतका स्वास्थ्य सामग्रीहरु हिमाल पारीका गाउँमा समेत पुर्‍याएका छन । धेरै भन्दा धेरै मानिसहरु अस्पतालबाट तिमीलाई जितेर घर फर्कदै छन् । धेरै मानिसहरु होम आइसोलेशनमा बसेर तिमीलाई जिते । त्यस कारण कोरोना अब त अति भै सक्यो तिमीले गर्दा व्यहोर्न नसक्ने क्षती भइसकेको छ । कुनै पनि हालतमा तिमी अब धेरै समय टिक्न पाउने छैनौं । अब त जबरजस्त तिमीलाई यो दुनियाँबाट उठाइदिनेछन ।

तिमीलाई थाहानै होला जब तिमीले मेरो शरिरमा पसेर मलाई आक्रमण गर्ने अथक प्रयास गरेका थियौं । तव कुनैदिन तिमीले देख्यौं । मलाई कोरोना लाग्यो भनेर म चिन्तित भएको । खानै खान छाडेको ? । डरले थरथर काँपेको ? । कुनै दिन आनन्दले नसुतेको तिमीले आक्रमण गरेको बेला र नगरेको बेलामा कुनै फरकपन पायौं, तिमीले ? ।

तिमीले त मेरा भाइहरुलाई समेत छोडेनौं । र, पनि म कुनैपनि हलचल गरिन र भाइहरु पनि । तिमीले बेला बेलामा मेरो मनोबल गिराउनको लागी हातखुट्टामा बढि कटकटी खाने, गल्ने, कम्मर ढाड दुखाउने, फोक्सोमा समेत आक्रमण गरेकै हौं । तर पनि म डर भएन । बरु उल्टै तिमीलाई मेरो शरिर भित्र कैद बनाएर राखे । र, तिम्रो दोश्रो लहरले पनि मलाई कुनै असर पार्न सकेन । उता अस्पतालमा त अक्सिजन नभएर पनि मानिस आत्तिएर पनि मरिरहेका थिए ।

एकदिन अस्पतालमा पुगेको थिए । विरामीको अवस्था भयावह बन्दै गएको थियो । त्यसकारण म घरमै बसे र अन्नतः तिमीलाई जितेरै छोडे । अहिले म यही कुराको अभियान चलाउदै छु । मनदेखि कोरोनालाई जित्ने सक्ने आट गरौं । भौतिक दुरी कायम गरौँ । मास्क लगाऔं । सेनिताइजर लगाऔँ । कोरोना भगाऔ ।  भन्ने नारा यत्रतत्र छरिएको छ । भ्याक्सिन पनि आइरहेको छ । त्यसकारण कोरोना अव हामी कमजोर छैनौं । अब त तिमीलाई परास्त पार्नका लागी विभिन्न किसिमका युद्धकला र भ्याक्सिन रुपिसेनाहरु प्रयाप्त मात्रामा बिकास हुदैछन । कहाँ त्यसैले कोरोना तिमी हामी बाट छिटो भन्दा छिटो बिदा हौं ।

अब म आफ्नो देश बनाउन लाग्नेछु । तिमिलाई जानकारी पनि होस् । म जस्तै युवाले तिमिलाई जितिसकेका छन । अब मेरो देश प्राकृतिक श्रोत र साधनले सम्पन्न भएर पनि छिमेकी देशको मुख ताक्नु पर्ने अवस्था न्युनिकरण गर्नमा हामी युवाहरु लाग्ने छौं । अब हामी आफ्नो परिवारमा झगडिएर मिलाउनको लागी छिमेकीलाई बोलाउने संस्कारको अन्त्य गर्नमा लाग्ने छौं । आफ्नो खेतबारीलाई बाँझै राखेर बजारको बिदेशी चामल किनेर खानुपर्ने चलनको अन्त्य गर्नमा युवाहरु लाग्नेछु । विदेशमा पसिना बगाइरहेका मेरा दाजु दाइभाई, दिदीबहिनीलाई स्वदेशमा फर्काउने प्रयत्न गर्ने छौं । भाइभाई टुट, फुट र गुटको राजनितीको संस्कार युवा मिलिजुली न्याय, स्वतन्त्रता, सद्भाव र मर्यादाको संस्कारको संस्थागत विकास गर्नमा लाग्दै छौं । आफ्नो देशको सिमानालाई बलियो बनाउँदै छौं । ‘सयौं थुँगा फूलहरुलाई गाँसेर एउटै माला बनाउन लागिरहने छौं । तिमी जस्तै पटक पटक देखिने भाइरसविरुद्ध खटिरहने छु ।


प्रकाशित मिति: मंगलबार, असार ८, २०७८, १३:१४:००
प्रतिक्रिया दिनुहोस्