ब्लग

लकडाउनमा एक मजदुरको मनै रुवाउने कथा

घाटगाउँ डटकम

‘कोरोनामा मर्नु नै लेख्या रैछ भने के नै गर्न सकिन्छ र ? नत्र काम नगरि माम पाईदैन । के गर्नु आफ्नो त कर्मै दुखारी ।’

यो भनाई हो, काभ्रे घर भई हाल लगनखेलमा एक मोटसाईकल वर्कशपमा काम गर्ने मजदुरको । उनी नाम सुनाउन चाहदैनन् । मनभरीका पीडा अनेक छन् । फेरि लकडाउन भएपछि सुनाउन कर लाग्यो । उनी भन्दै गए । म सुन्दै गए ।

घरमा श्रीमति र बच्चा छन् । लकडाउनको अघिल्लो दिनसम्म सँगसँगै थिए । लकडाउनपछि श्रीमति र बच्चालाई घर पठाए । आफु चाँही काम नसकिएकोले घर जान पाइएन । परिवारसहित बस्ने भएकाले तलब पनि महिना नपुग्दै एक/दुई हजार रुपैयाँ गर्दै ल्याएर सकिन्थ्यो । जसोतसो श्रीमती र बच्चालाई घरमा पठाए ।

आफूसँग भएको अलि अलि पैसाले केही सामान लिए । तर लकडाउन एक हप्ता दुई हप्ता भन्दै थपिन थाल्यो । खल्तीमा रकम पनि सकियो, नागरिकता घरमा थियो । राहत पनि पाईएन । अरु काम खोजौ भने घरबेटीले बाहिर निस्कन पनि दिएनन् ।

जब ग्याँस सकियो तब साह्रै गाह्रो भयो । साहुसँग भनौ भने पनि तलब भन्दा पाँच हजार बढी ल्याई सकेको थिए । घरबेटीलाई भनौ भने दुई महिनाको भाडा दिनै बाँकी थियो । त्यही घरमा बस्ने अरु जनासँग मेरो त्यती राम्रो हेलमेल थिएन ।

साथीहरुलाई भनौ भने पनि सबैको अवश्था उस्तै थियो । अव मसँग एउटै बिकल्प थियो, इलेक्ट्रोनिक जगमा चामल दाल नुन तेल एकै ठाउँमा राखेर मिक्स गरेर पकाएर खाने । केही दिनपछि चामल पनि सकियो । किराना पसलमा पनि पहिलेकै पैसा दिन बाँकी थियो ।

अलिअलि चना थियो केही दिन त चना पकाएर चिउरा हालेर खाए । त्यसपछि सबै सकियो । मलाई झन तनाव हुन थाल्यो ।त्यसपछि दुईहप्ता जति श्रीमतीले एक बर्ष अगाडि घरबाट ल्याएको सुकाएको साग थियो । कुनै स्वाद बिनाको अनि अलिकती पिठो थियो ।

त्यही इलेक्ट्रोनिक जगमा हल्का नुन तेल अनि त्यही सुकाएको साग र हल्का पिठो हालेर खोले बनाएर खाए । मेरो जीवनको भोकसँगको पहिलो संघर्ष थियो, त्यो ।

गमलामा पुदिना रोपेकी थिईन श्रीमतीले । त्यसलाई निक्कै माया गरेर हुर्काएका थिँयौ । निक्कै लहलहाउदो भएको थियो । गाँउबाट श्रीमतीले सिलौटो ल्याएकी थिईन । पुदिना अनि खुर्सानीका पुराना खोस्टाहरु किचेनका कुना कन्दरा खोजेर अचार बनाउथे । त्यही पुदिना थियो, मेरो स्वाद बिनाको खोलेमा मिठो स्वाद दिने ।

कहिलेकाँही श्रीमतिले फोन गर्थिन् । अवस्था के छ ? भनेर सोध्थिन् । जवाफमा मैले सबै ठिकै छ भन्थे । खाना बनाउने खाने, सुत्ने अरु के काम छ र ? यस्तै यस्तै बाहना मिलाएर जवाफ फर्काउँथे ।

यता आफ्नो हालत खराब थियो । कसरी सुनाउनु ? त्यसैले मुखभरीको झुट बोल्थे । सबै ठीकै छ भनेर झुट बोल्थे । आमाले सोध्नुहुन्थ्यो, खाना खाईसकिस नाई बाबु ? मन भित्रभित्रै भक्कानिन्थ्यो ।

तर पनि सम्हालिएर कुरा गर्ने प्रयास गर्थे । छोट्याएर भन्थे, आमा म पछि फोन गर्छु । फोन राखेपछि बेडमा घोप्टो परेर रुन्थे । पीडा मनमै थियो । बाहिर कसलाई सुनाउनु ? घरमा भन्ने आँट गरिन् । भनेर पनि के गर्नु ?

घरको अवस्था पो कस्तो थियो ? राम्ररी बुझ्न पाएको थिइन् । घरमा पनि लकडाउन थियो । बुवालाई परिवार पाल्नै सकस भैरहेको थियो । यस्तो विपद्को बेला सहयोग गर्नुपर्ने थियो । तर आफ्नै हरिबिजोग ! कसरी सुनाउनु ?

यस्तै दुःखले मलाई समय बिताउन निक्कै मुस्किल हुन्थ्यो । साथीहरुसँग कुरा गरौ भने पनि मोबाईलमा ब्यालेन्स हुन्थेन । फेसबुक, युट्युब हेरौ भने पनि सादा मोबाईल थियो । कोठामा टेलिभिजन थिएन ।

म बिस्तारै बिरामी हँुदै गए । पहिले मेरो ब्लडप्रेसर उच्च थियो । आजकाल किन हो खै ? खाना खान नपाएकोले पनि धेरै दिन बितिसकेको थियो । सायद त्यही भएर होला, फेरी ब्लडप्रेसर घट्न थाल्यो ।

ब्लडप्रेसर स्वात्तै घटेर म उठ्नै नसक्ने अवश्थामा पनि पुगेँ । रातीमा निक्कै डर लाग्थ्यो । मेडिकलमा गएर जाँच गर्दा सोचेभन्दा कम थियो ब्लडप्रेसरको लेभल । डाक्टरले अवस्था चिन्ताजनक छ भन्थे । माछा, मासु, फलफुल, खानुस । तनाव नलिनुस । दाल गेडागुडीको झोल खानुस । नत्र खतरा हुन सक्छ भन्थे ।

हस डाक्टरसाब भन्नुको विकल्प मसँग थिएन । खाना नखाएकै ११ दिन बितेको थियो । डाक्टरले जीवनजलको प्याकेट थमाए । तर मसँग जम्मा ३० रुपैयाँ थियो । दुई वटा जीवनजल लिए । बाँकी पैसाँको ब्लडप्रेस चेकअप थियो । यो सुनाउन नमिल्ने मनको पीडा थियो । विस्तारै भारी बन्दै गयो ।
कहिलेकाँही समाचार सुन्थे । कोरोनाले भन्दा आत्महत्या गर्नेको संख्या दैनिक उकालो लाग्दो थियो । यो समाचारले मलाई पनि छँुदै गयो । सायद मेरो जस्तै पिडा थियो होला र त मानिसहरु आत्महत्या गर्न विवश भए होलान ।

यस्तो कुराले मुटु दुखे जस्तो हुन्थ्यो । कता कता भासिए जस्तो हुन्थ्यो । कतिबेला सुत्ने, कतिबेला उठ्ने, कति बेला खाने, कुनै टाईम टेबल थिएन । जब घरबाट फोन आउथ्यो, सम्हालिएर कुरा गर्थे ।

श्रीमती भन्थिन, किन आजकाल हजुर धेरै कुरा गर्नुहुदैन ? धेरै टेनशन नगर्नु अव खुलिहाल्छ नि । त्यसपछि म झन् भक्कानिएर रुन्थे, कहिलेकाँही निक्कै डर लाग्थ्यो । राती सुतेको सुतेई हुन्छु कि ?

घर परिवारहरुसँग भेट्नै नपाई मर्छु कि ? रातीमा सुत्न पनि डर लाग्थ्यो । कति खेर निदाँउथे थाहा हुन्थेन । कहिलेकाँही त लाग्थ्यो, यस्तो मरे जस्तो जुनी बाँच्नु भन्दा त बरु होस भन्ने लाग्थ्यो । जब घरबाट फोन आउथ्यो । फेरि झस्किन्थे । श्रीमतीले हौसला दिन्थिन । आमाले सम्झाउनुहुन्थ्यो । अलिक बाँच्ने आशा जागेर आउथ्यो ।

प्रायः घरबेटी कहाँ उनका आफन्तहरु साथीहरु आउथे । तास खेल्थे । मिठा मिठा परिकारहरु बनाएर खान्थे । कहिले काँही घरबेटी दिदिले खिर, कहिले पुलाऊ कहिले मःमः बनाउनुहुन्थ्यो ।

मलाई पनि तीन चार पटक ल्याइदिनुहुन्थ्यो । त्यतिबेला मेरो धेरै दिन पछिकोे खानासँगको भेट हुन्थ्यो । कहिलेकाँही तरकारी बारी खन्नलाई सहयोग गर्थे ।

पानी भरेर तरकारी बारीमा हालिदिन्थे त्यही भएर पनि होला घरबेटीले माया गर्थे । एक दिन लकडाउन खुकुलो गराउने समाचार आयो । मनमा केही राहत मिल्यो । साहूजीले फोन गर्नुभयो । अब खुल्ने भयो । भोलिदेखि काममा आउँ है भने । मेरो दैनिकी सुरु भयो । साहुजीले के छ अवस्था ?

बिरामी परे जस्तो छ नि ? भनेर सोधे । कोठामा राशन सकिएको वास्तविकता बताए । साहुले चार हजार रुपैयाँ हातमा थमाए ।
भोलीदेखी अरु साथीहरु आउने बेलासम्म सबैकामको जिम्मा तिम्रै हो भनेर थप दुई हजार पनि थपे । मेरा लागि यो भन्दा खुशी अरु के हुन्थ्यो र ? दुई हप्तादेखिको भोक मेटिने दिन थियो ।

सुरुमा, पसलमा गएर ग्याँसको अर्डर दिए । त्यसपछि चामल अनि दाल तरकारी सबै एकै ठाँऊमा थियो । म मासु पसलमा गए । आधा किलो मासु लिएर आए । रुम पुग्नु भन्दा अगाडि पसलका रामु दाई पुगिसकेका थिए ।

होम डेलिभरीको सुविधा थियो । त्यही घरको तल्लो फ्लाईटमा बस्ने बहिनीहरुले हेरीहरेका थिए । मलाई लाज लाग्यो । सबै एकै दिन सकिए जसरी एकै पटकमा सबै सामान लिएर आएको थिए ।

म देखे नदेखे जसरी फटाफट माथी रुममा गएर रामू दाईलाई खाली सिलिण्डर दिएर पठाए । १५ मीनेटमा खाना तयार पारे । मासुको स्वादले भोको पेट भर्ने धोको पूरा हुँदै थियो ।

पहिला थाल धोए । हात धोए । मासू, भात र तरकारी थालमा हाले । १५ दिनको भोक चार गाँस भातमा पूरा गरे । मैले त्यो दिन, त्यती धेरै खाना खाएको पहिलो दिन थियो ।

यति आनन्द आयो की त्यो क्षण मैले बिताएका सबै कठिनाईहरु एकैछिनमा भुलेको थिए । सायद खाना लागेछ क्यारे । म बिहान अबेरसम्म सुते । करिब ९ बजे उठ्दा काममा जान ढिला भइसकेको थियो । झटपट गरेर काममा गए ।

हे भगवान ! अब फेरी यस्ता दिनको सामना गर्न कहिले नपरोस भनेको थिए । अनायसै फेरी त्यही समयमा त्यही दिनको सामना गर्नुपर्ने अवस्था आइलाग्यो । अब कसरी जिउने हो ? हालत त्यही हो । अवश्था त्यही हो । हामी ज्याला मजदुरी गरिखानेको ।

‘अब आफै भन्देउ सरकार ! रोगबाट बच्नुभन्दा पहिले भोकबाट कसरी बच्ने ?’

यो उनको मात्रै प्रश्न थिएन् । मेरो पनि थियो । पल्लाघरे दाईको पनि थियो । तल्लाघरे भाईको पनि थियो । काठमाडौँ बस्ने धेरै आप्रवासीको हो । तर हाम्रा प्रश्न सरकारले सुने पो । महामारीले पीडा बुझे पो ।


प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८, १७:३८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, असार ११, २०७८, १७:३८:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, असार ११, २०७८, १७:३८:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, असार ११, २०७८, १७:३८:००