बिचार

कोरोना शिक्षकलाई लाग्ने, नेतालाई नलाग्ने ?

घाटगाउँ डटकम

सुर्खेत । कोरोना महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त छ । शुरु शुरुमा कोरोना कस्तो होला ? भन्ने नेपाली अहिले दैनिक १० जना भन्दा बढी संख्यामा ज्यान गुमाइरहेका छन् । कोरोनाकै कारण धेरै घर शोकाकुल बनिरहदा केही ठाउँमा भने चुनावी माहोल तातेको छ । 

कोरोनाकै कारण स्कुल बन्द छ । पठनपाठन ठप्प जस्तै छ । केही ठाउँमा विद्यालय खुलेपनि निकै धेरै सामाजिक दुरी कायम गरेर पठनपाठन थालिएको छ । विद्यार्थीलाई निश्चित दुरी बनाएर बस्न लगाएर शिक्षकले पढाउने गरेका छन् । 

तैपनि अभिभावक ढुक्क हुन सकिरहेका छैनन् । स्कुल खोल्ने नखोल्ने भनेर शिक्षक पनि एकमत छैनन् । सरकारको निर्देशनअनुसार स्कुल बन्द रहेका बेला पठनपाठन लगभग ठप्प प्राय छन् । यस्तो अवस्थामा राजनीतिक दलका नेताहरु भने चुनाव केन्द्रित भेला तथा कार्यक्रममा व्यस्त छन् ।

कोरोना महामारीको पर्वाह नगरी नेतारु दैनिक जसो नेता कार्यकर्तासँग भेटघाट, पार्टी प्रवेश गराइरहेका छन् । मास्क समेत नलगाई उनीहरुले कोरोना महामारी फैलाउन आफै लागिपरेका देखिन्छन् । तर स्कुलमा भने सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने भाषण छर्दै पनि हिहेका छन् । जसले सर्वसाधारणमा आक्रोश पैदा गरेको छ ।

शिक्षकलाई लाग्ने, नेतालाई नलाग्ने ?

सोमबार चौकुने गाउँपालिकामा नेकपा नेताहरुको जमघट तथा पार्टी प्रवेश कार्यक्रम थियो । कांग्रेस र विप्लव पार्टी छाडेर आएका कार्यकर्तालाई नेकपा नेताहरुले पार्टी प्रवेश गराए । पार्टी प्रवेश गराएपछि सामुहिक फोटो पनि खिचाए ।

फोटो सामाजिक सञ्जालमा भाइरल छन । अनि एउटा विद्यालयमा मुश्किलले ५ जना विद्यार्थी पढाउने शिक्षक कोरोना लाग्ला भनेर डराई डराई पठनपाठन गराईरहेका छन् । पहिलो तस्बिरमा देखिने विद्यार्थी र शिक्षकबीच सामाजिक दुरी मात्रै होइन, मुखमा मास्क समेत छ ।

टिनको छानामुनि खुल्ला हावा खाएर पढिरहेका विद्यार्थी कोरोनाप्रति सचेत छन् । तर त्यही स्कुल नजिकैको एक वडामा नेकपा नेता कार्यकर्ता भने मास्क समेत नलगाई सामुहिक फोटो खिचाउदै उत्सव मनाईरहेका छन् ।

पार्टी प्रवेश गराईरहेका नेता कार्यकर्ता चुनावै भोलि नै होला जसरी लागि परेका छन् । जसले कोरोना फैलिने चुनौति मात्रै होइन, हिजो लकडाउनको बेला मानिसहरुलाई घरभित्र थुन्दै हिड्ने नेताहरु आज आफै अनुशासनहीन र सुरक्षा मापदण्ड तोडेर कोरोना फैलाउन उद्धत देखिन्छन् ।

नेताहरुको यो चालाबाट आजित भएका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले फेसबुकमा लेखेका छन, "यी दुबै फोटो एकै दिन चौकुने गाउँपालिकामा सुट गरिएका हुन । एकातिर शिक्षकले विद्यालय भन्दा टाढा गई परीक्षा लिए जस्तो गरि पढाउने । अर्कोतिर स्थानिय पार्टी कार्यकर्ताको जमघट बाक्लो । साच्चिकै कोरोनाबाट शिक्षकवर्ग डराउनु पर्ने राजनिती गर्ने वर्ग नडराउनु पर्ने किन रहेछ ? कोरोनाको लडाईमा पछाडि नहटौ ।"

पाण्डे जस्तै अहिले आम मानिसले पनि राजनीतिक दलका नेताहरुलाई यही प्रश्न गरिरहेका छन् ।


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७, ०१:२९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो मंगलबार, भदौ २३, २०७७, ०१:२९:००
खुल्न थाले शक्तिपीठ मंगलबार, भदौ २३, २०७७, ०१:२९:००