समाज

विद्युत आपूर्ति सुल्झाउन सीडीओको अग्रसरता

घाटगाउँ डटकम

 

सुर्खेत : पटक पटक विद्युत कटौती भएर हैरानी खेपेर सुर्खेतबासीका लागि विद्युत सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अग्रसरता बढाएका छन् । उनले बिहीबार सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेर विद्युत आपूर्ति सहज गराउन सम्बन्धित निकायलाई निर्देशनदेखि सहजीकरण गर्न आह्वान गरेका छन् ।

विद्युत आपूर्तिलाई नियमित र प्रभावकारी बनाउन बुस कटिङ तथा लाइनहरु मर्मत सम्भार गर्ने, सेवा प्रवाहलाई व्यवस्थित गर्न सेवाग्राहीको गुनासोको समयमै सुनुवाई गर्ने लगायतका विषयमा गम्भीर बन्न सरोकारवालालाई आग्रह गरेका छन् ।

यस्तै विद्युत महशुल तिर्न आउने सेवाग्राहीहरुलाई स्वास्थ्य सम्वन्धी मापदण्डको पालना गर्न लगाउने र आवश्यकतानुसार कार्य समयलाई लचकदार बनाउने, जनशक्ति न्यून भई सेवा प्रवाहमा असर परेको भए नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय तथा केन्द्रीय कार्यालयमा समन्वय गरी रिक्त पदपूर्तिको लागि शिध्र पहल गर्ने, सडक निर्माण गर्ने निकाय तथा सम्वन्धित स्थानीय तहसंग समन्वय गरी सडकको विचमा रहेका विद्युतका पोलहरु अविलम्व स्थानान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै काठका जिर्ण पोलहरुका कारण दुर्घटना समेत हुनसक्ने अवस्थालाई दृष्टिगत गरी त्यस्ता पोलहरु प्रतिस्थापन गर्ने, स्थानीय तह र सडक निर्माण गर्ने निकायहरुसंग समन्वय गरी सडकको क्षेत्राधिकार यकिन गरेर मात्र पोल गाड्ने र जिल्लाभित्रको समग्र विद्युतीकरण र विद्युत आपूर्ति प्रणालीलाई स्तरोन्नती गर्न स्पष्ट दृष्टिकोणका साथ कार्ययोजना तर्जुमा गरी काम गर्ने जस्ता निर्णयहरु गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

यसअघि उद्योग वाणिज्य संघ सुर्खेतले मंगलबार विद्युत आपूर्तिको समस्या दुई दिनभित्र समाधान गर्न अल्टिमेटम दिएको थियो । 


प्रकाशित मिति: बिहिबार, असार २४, २०७८, २०:३९:००
प्रतिक्रिया दिनुहोस्