राजनीति

विसुंखेसहित एमालेका २२ सांसदलाई स्पष्टीकरण

घाटगाउँ डटकम

काठमाडौँ : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२  सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई  कारवाही गर्ने  जनाएको हो । 

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए । आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२  सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गरेका थिए ।

बैठकले स्पष्टीकरण २४ घण्टाभित्र पेश गर्न भनिएको छ । स्पष्टीकरणका आधारमा कारवाही प्रक्रियाबारे निर्णय हुने उनले बताए । “हामीले हिजो संसद्मा भएको समग्र घटनाक्रमलाई नेपालले हासिल गरेका अग्रगतिका प्रयासमाथि एक खालको धक्काका रुपमा लिएका छौँ”, उनले भने, “पार्टीका केही सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोरक्रस गर्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जुन काम गर्नुभयो । पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहिन र गलत कार्य भनेको छ ।” 

एमाले सांसद पार्वती विसुंखे, धनबहादुर बुढासहित २२ जना सांसदले हिजो फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाइृ विश्वासको मत दिएका थिए । दश बुँदे सहमतिलाई स्थायी कमिटी बैठकले गरेको अनुमोदनलाई आज बसेको बैठकले पनि  अनुमोदन गरेको छ । उनले १० बुँदे सहमतिअनुसार नै पार्टीलाई एकताबद्ध बनाउने निर्णयसमेत बैठकले गरेको बताए । “दश बुँदे अर्को पार्टीलाई मत दिऔँ, पार्टीको निर्णय अवज्ञा नगर भनेको छैन”, उनले भने, “१० बुँदेले पार्टीलाई एकताबद्ध बनाउने हो । उहाँहरुले संसद्मा हिजो जे गर्नुभयो त्यो गलत हो ।”  

असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमा नै आजको बैठक बसेको उनको भनाइ थियो । विसं २०७५ जेठ २ गतेपछिको निरन्तर अहिलेको बैठक भएको उनले बताए । जेठ २ गते नवौँ बैठक डाकिएको थियो । उनले पार्टीभित्र विभिन्न समस्या उत्पन्न र विमति हुने जनाउँदै पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिन नहुने भनाइ राखे । प्रवक्ता ज्ञवालीका अनुसार बैठक भोलि ३ बजे फेरि बस्नेछ । रासस


प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८, ००:३५:००
प्रतिक्रिया दिनुहोस्